२०८३ साउन २१ गते बिहीबार

एन प्याब्सन कास्कीको स्थापना दिवस

एन प्याब्सन कास्कीको स्थापना दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २९ गते शुक्रबार १०:५३

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष मानव सेवा आश्रमलाई १ लाख ११ हजर १ सय ११ रुपैंयाँ सहयोग गरेको छ ।

पोखरा

राष्ट्रिय निजी तथा आवसिय विद्यालय एशोसिएसन नेपाल कास्कीले (एन प्याब्सन) विविध कार्यक्रम आयोजना गरी २५ औं स्थापना दिवस मनाएको छ । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसइईमा एन प्याब्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा २०७८ सालको एसइईमा उत्कृष्ट अंक ल्याउने हेम्जा बोर्डिङ स्कुलकी अनीशा दाहाल, बाल प्रतिभा बोर्डिङ स्कुलकी आशीका चपाइ र लेखनाथ मेमोरियल बोर्डिङ स्कुलका सुजल भण्डारीलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी एलपी देवकोटा मेमोरियल स्कुल, सिद्धार्थ लबडेल बोर्डिङ स्कुल, अल्फा एकेडेमी, वीरेन्द्र मेमोरियल बोर्डिङ स्कुललाई सम्मान गरिएको थियो । रिलायन्स पब्लिक स्कुल, लेकसिटी एकेडेमी र लेभिन रेसिडेन्टल स्कुललाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष मानव सेवा आश्रमलाई १ लाख ११ हजर १ सय ११ रुपैंयाँ सहयोग गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष हेमन्त अधिकारीले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियान्ता सम्झाना बर्तौलालाई हस्तान्तरण गरेका थिए ।

संस्थाले मृगौला पीडित सागर मेमोरियल स्कुलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार ५ रुपैंयाँ सहयोग गरेको छ । कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले निजी विद्यालय र सामुदायिक विद्यालयलाई सरकारले समान दृष्टिकोणमा हेर्ने बताए । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले निजी विद्यालयका समस्या राष्ट्रको पनि समस्या भएकोले ती समस्या हल गर्न सधंै तयार रहेको बताए ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताए । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले शिक्षालाई सिप र जिविकोपार्जनसँग जोड्न नसकेसम्म विद्यार्थी विदेश पलायन हुने समस्या नरोकिने बताए । कार्यक्रममा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले गुणस्तर शिक्षा दिन एन प्याब्सन लागि परेको बताए ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एन प्याब्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङले बोलेका थिए ।

प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार १०:५३
हजुरको प्रतिक्रिया