राजनीतिक भविष्य सिध्याउन खोजियो
पोखरा
सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन् ।
बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो । पोखराको रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडमा ढाकाकुमार नेतृत्वको पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई हिसाकिताब नबुझाएको आरोप लागेको छ । सहकारीमा पैसा नहुँदा बचतकर्तालाई फिर्ता गर्न नसकेर संकटमा फसेको छ ।
सांसद श्रेष्ठले लेखेका छन्, ‘मैले पार्टी र चुनावमा लाग्नु पूर्व नै राजीनामा दिएको संस्थाको बिषयलाई नाटकिय ढंगबाट उठाएर नियोजीत रुपमा मेरो नाम बदनाम गर्न खोजियो । खाएको बिष पो लाग्छ । जबरजस्ती मेरो चरित्र हत्या गर्न केही मान्छेहरु लागेको प्रष्ट छ । होइन भने मैले राजीनामा दिए पछी सो संस्थामा के भयो कसो भयो सो को जिम्मेवारी र जवाफदेही म कसरी हुने ? जुन संस्था फाइदा घाटा के मा छ छैन त्यसको जिम्मेवार कसरी हुने ?’
उनले सहकारीबाट राजीनामा दिदै गर्दा अडिट गरेर, अधिवेशन बुझाएको बताएका छन् । गण्डकी प्रदेशको कास्कीमा भष्ट्रचार अनियमितता घुसखोरीलाई पर्दाफस गर्नलाई आफूले शंखघोस गरेको उनको दाबी छ ।

प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ११:१७




