पोखरा
अमरसिंहचौर मैदानमा भइरहेको पोखरा महोत्सवमा शनिबार दर्शक उल्लेख्य सहभागिता रहेको छ । शनिबार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा दर्शकको संख्इा बढेसँगै आर्थिक कारोबार समेत बढेको छ ।
महोत्सवमा आइतबार माघे संक्रान्तिको अवसर पारी महोत्सवस्थलका रेस्टुरेन्टहरुमा माघे संक्रान्तिको अवसरमा खाइने परिकारहरु तरुल, सख्खर, चाकु, खिचडी, बटुक लगायतका परिकारहरु उपलब्ध हुनेछन । महोत्सवमा शनिबार लोकदोहोरी कलाकार प्रकाश सपुतको प्रस्तुतिमार्फत् दर्शकहरुले भरपुर मनोरन्जन लिए । सपुतको पञ्चेबाजा, गलबन्दी लगायतका गीतमार्फत दर्शकहरुले नाचेर र गाएर मनोरन्जन लिएका थिए । सपुतसँगै लोकदोहोरी गायक जीवन दाहाल, शिवहरी ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, वसन्ती थापा, सुमन केसी, तुलसा जिसीले पनि प्रस्तुति दिएका थिए ।
महोत्सवमा आइतबार लोकदोहोरीतर्फ राजु परियार, प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, दिलु लामा, निश्चल थापा, प्रिन्स लम्साल, तुलासा जिसी लगायतको प्रस्तुति रहने । साँझको लाइभ ब्यान्डतर्फ छेवाङ लामाको प्रस्तुति रहने छ ।
प्रकाशित मिति २०७९ माघ १ गते आइतबार १०:०५




