२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरले देखायो भैरव नाच (फोटो फिचर)

पोखरा महानगरले देखायो भैरव नाच (फोटो फिचर)

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार १०:४१

काल भैरव, महाकाली, इन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रूप धारण गरेर तान्त्रिक विधिबाट भैरव नाच नाचिन्छ ।

पोखरा

कास्कीका अन्तिम शाह राजा सिद्धिनारायण शाहले ललितपुर र भक्तपुरबाट केही व्यापारी, शिल्पकार ल्याएर पोखरामा बस्ती बसाले । पोखराको विकासक्रम २७० वर्ष लामो यहीं इतिहाससँग जोडिएको छ । भक्तपुरबाट ल्याइएका नेवारहरुले बाघ भैरव नाच देखाउन थाले । पोखरामा भैरव नाच सुरु भएकै २५० वर्ष पुगेको इतिहासका जानकारहरु बताउँछन् ।

काल भैरव, महाकाली, इन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रूप धारण गरेर तान्त्रिक विधिबाट भैरव नाच नाचिन्छ ।

भैरव नृत्यको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गरिन्छ । भैरव नाचमा प्रयोग हुने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराएर नचाइने भएकाले यो तन्त्रमा आधारित छ ।

बाघ भैरव नाच जतिबेला पनि हेर्न पाइदैन । २५० वर्ष अगाडि सुरुवात भएको भैरव नाच पहिला १२\१२ वर्षमा नाचिन्थ्यो । २०२९ सालपछि घटाएर प्रत्येक ६ वर्षमा नचाउन थालियो ।

पर्यटकीय सहर पोखरामा भैरव नाच भैरव साँस्कृतिक संरक्षण समितिले जोगाइरहेको छ । कोराना कहरले पोखरामा यसपालि ७ वर्षको अन्तरालमा भैरव नाच प्रदर्शन भइरहेको छ ।

मंसिर १५ गतेदेखि एक हप्तासम्म भैरव नाच पोखराका पुराना बस्ती जहाँ नेवार समुदायको बाहुल्य छ त्यहाँका मठमन्दिरमा प्रदर्शन गरियो । त्यसपछि भक्तजनको माग अनुसार प्रदर्शन भइरहेको छ ।

यसपटक पोखरा महानगरले पनि भैरव नाचमा चासो देखाएको छ । शनिबार साँझ पोखरा महानगरले नै कार्यक्रम आयोजना गर्दै भैरव नाच प्रदर्शन गरेको छ । पोरखाको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेर महानगरपालिकाले भैरव नाच प्रदर्शन गरेको हो ।

भैरव नाच हेर्नका लागि महानगरले पाहुनाहरुलाई समेत डाकेको थियो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी, प्रदेशका विनाविभागीय मन्त्रीसँगै कास्कीका जनप्रतिनिधिलाई निम्तो गरेर भैरव नाच हेर्न महानगरले उपस्थित गरायो । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह, हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामा र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठसहित पोखरा घुम्न आएका विदेशी पाहुना भैरव नाच हेर्नलाई सहभागी भए ।

भैरव नाच हेर्न आएका पाहुनालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा नचाइने भैरव नाच अन्तको भन्दा पृथक ढंगले प्रस्तुत हुने बताए । ‘यहाँ प्रस्तुत हुने वाद्यवादनको प्रस्तुती छुट्टै छ । यही प्रकृतीको नेपालमा अनयन्त्र कतैं नाच हुदैन भन्ने कुरा हामीले थाहा पायौं’, उनले दावाका साथ भने । पुर्खाहरुले सुरु गरेको साँस्कृतिक नृत्यु आउदो पुस्तालाई हस्तानतरण गर्ने दायित्व रहेको बताए ।

पोखराको भैरव टोलमा भैरव मन्दिर बनाएर सुरु भएको भैरव नाचलाई अन्तराष्ट्रियकरण गर्न सम्बद्र्धन र प्रचारप्रसारको लागि महानगरले कार्यक्रम गर्दै प्रदर्शन गरेको मेयर आचार्यको भनाई छ । ‘दुई शताब्दी लामो इतिहास बोकेको मौलिक नाचलाई सरकारले पनि अपनत्व ग्रहण गर्नुपर्छ’, उनले भने । सरकारी तवरबाट पहिलो पटक भैरव नाच प्रदर्शन गरेको मेयर आचार्यले दाबी गरे ।

भैरव नाच हेर्न पुगेका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउने आधार साँस्कृतिक विवधता भएको बताए । साँस्कृतिक धरोहरको रुपमा रहेको भैरव नाच सम्बद्र्धन र प्रवद्र्धन गर्न महानगरले थालेको पहलकदमी सकरात्मक रहेको उनले बताए । ‘स्थानीय सरकार, प्रदेश सकार र संघ सरकारको पनि सँस्कृति जोगाउन ध्यान जाओस्’, उनले भने ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भैरव नाचको प्रबद्र्धनमा प्रदेश सरकारले पहल गर्ने बताए ।

नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरू गाएर नर्तकहरू खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नर्तकहरुले नृत्य गरे । मुदृंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाइयो । शास्त्रीय संगीतमा आधारित भैरव नाच झन्डै ५ घण्टासम्म चल्यो ।

नतर्क, गायक, वाद्यवादक, नर्तक सेवक, जगेडा नृत्य कलाकार, स्वयमसेवक र व्यवस्थापक गरेर भैरव नाचमा न्यूनतम् ८० जना कलाकार चाहिन्छ । तसर्थ भैरव नाच निकै खर्चिलो हुन्छ । कलाकारको समर्पणकै कारण पोखरामा भैरव नाच जोगिएको छ ।

    

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार १०:४१
हजुरको प्रतिक्रिया