२०८३ साउन २१ गते बिहीबार

सेती खोंचमा विलीन प्रेमको निसानी

सेती खोंचमा विलीन प्रेमको निसानी

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०७:३०

पोखरा ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो ।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो । पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यति एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती...

पोखरा

११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो ।’

खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो । पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यति एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती नदीको खोंचमा खसको थियो ।

काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यति एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान २२ मिनेटपछि दुर्घटनामा पर्यो ।

१५ दिन अगाडि मात्रै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नुपर्ने जहाज २ किलोमिटर पर गएर आकाशबाट भुईंमा खसेपछि दनदनी दन्किएको आगोको मुस्लो निभाउन मात्रै झण्डै दुई घण्टा समय लाग्यो । त्यतिञ्जेलसम्म यति एयरलाइन्सले विमानमा सवार ६८ यात्रु र चालक दलका ४ सहित ७२ जनाको विवरण सार्वजनिक गरिसकेको थियो । नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरीले खोंचबाट शव निकालेपछि साइरन बजाउँदै एम्बुलेन्समा राखेर पश्चिमाञ्च क्षेत्रीय अस्पतालतर्फ हुँइकिन्थ्यो ।

साँझपख दुर्घटनामा मृत्यु भएका २३ जनाको सनाखत भयो । सनाखत हुनेमध्येमा एक थिए १० महिने बालक रिहान पौडेल । उनी आमा रचना काफ्लेको काखमा लडीबुडी गदागर्दै सेती खोंचमा बजारिएर जलेको जहाजको धुवाँसगै विलीन भएका छन् । अब उनले बुवा प्रदिपसँग खिस्स हाँस्दै काखमा बस्न पाउने छैनन् ।

०००

पर्वतको कुश्मा नगरपालिका–१ पाङका प्रदिप पौडेल र काठमाडौंकी रचना काफ्लेले ४ वर्ष अगाडी प्रेम विहे गरेका हुन् । विहेको तीन वर्षपछि पहिलो सन्तान रिहान जन्मिए । महिना दिनअगाडि रिहानलाई लिएर रचना काठमाडौं माइतीघर गएकी थिइन् । बसमा भन्दा छिटो र सुरक्षित ठानेर आमाछोरा यति एयरलायन्सको जहाज चढेर घर फर्कदै थिए । महिना दिनमा श्रीमति र छोरालाई भेट्न पाउने आशमा उत्साहि थिए प्रदिप । माइतबाट घर फर्कनलाई काठमाडौंबाट जहाज चढेका आमाछोरा जिवितै पोखरा विमानस्थलमा ल्यान्ड हुन पाएन् । धावनमार्गमा ल्यान्ड हुनुपर्ने जहाज सेती खोंचमा खसेपछि प्रदिपले श्रीमतिसँगै गुमाएका छन् प्रेमको निसानी १० महिने छोरालाई ।

०००

दुर्घटनास्थलबाट अस्पताल ल्याइएका शवहरु जलेर क्षतविक्षत छन् । ती शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम कक्षमा लस्करै राखिएको छ । आफ्नी श्रीमति र छोरा पनि दुर्घटना परेपछि आएका प्रदिपले शव हेर्दै जाँदा चिनिहाले । ‘बुहारीलाई दाँत देखेर पहिचान भयो । छोरालाई त उसले सहजै चिन्यो’, प्रदिपसँगै रहेका दिवाकार पौडेलले भने । वर्षौैदेखिको प्रेम सफल भएर विहे । तीन वर्षपछि जन्मिएको पहिलो सन्तान । श्रीमति र छोरा गुमाएका प्रदिप सम्हालिन सकिरहेका छैनन् । आसु धारा वगिहरेका छन् उनको । यति एयरको विमान मात्रै विलिन भएन आइतबार विहान धुवाको मुस्लोसँगै, प्रदिपको प्रेम र प्रेमको निशानी पनि उसैगरि विलिन भएको छ । प्रदिपको जिन्दगी पनि धावन मार्गमा अवतरण नभएको जहाज जस्तै दुर्घटनामा परेको छ उनको ।

०००

आइतबार पोखरामा भएको विमान दुर्घटनामा पर्वतका मात्रै ९ जनाले ज्यान गुमाएका छन् । कुश्मा नगरपालिका– ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ । उनीहरु बाबुछोरी हुन् । छोरी प्रसिद्धिलाई जन्मघर लिएर आएका अरुण पनि अब श्रीमति र २ छोरीलाई कहिल्यै नभेट्ने गरेर विदा भएका छन् । विहादी गाउँपालिका– ५ उराम पोखराका एकै परिवारका ४ जनाको निधन भएको छ । जमुना शर्मा, युवराज शर्मा, आरुबि शर्मा र वेबि शर्माको निधन भएको हो । यस्तै, मोदी गाउँपालिका– १ भुकदेउरालीका विजय गुरुङको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०७:३०
हजुरको प्रतिक्रिया