२०८३ साउन २१ गते बिहीबार

जहाज दुर्घटनामा निधन भएका २६ जनाको शव पहिचान

जहाज दुर्घटनामा निधन भएका २६ जनाको शव पहिचान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०८:५९

पहिचान भएका शवलाई पोस्टमार्टम गरी आज आफन्तलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ । प्रशासनका अनुसार पहिचान नभएका शवलाई डिएनए परीक्षणको लागि काठमाडौं पठाइने छ ।

पोखरा

पोखरामा आइतबार पूर्वान्ह ११ बजे भएको जहाज दुर्घटनामा निधन भएका मध्ये २६ जनाको पहिचान भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि १०ः३२ मा उडेको यति एयरलाइन्सको जहाज ल्यान्डिङ क्लिरेन्स लिइसको अवस्थामा ११ बजे सेती खोंचमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ६८ जनाको शव फेला परेकोमा २६ शवको पहिचान भएको हो । केही शव अझै निकाल्न बाँकी रहेको प्रहरीको भनाइ छ । ४ जना चालक दलका सदस्यसहित जहाजमा ७२ जना थिए ।

प्रहरीका अनुसार पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ की संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ पहिचान भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सिर्जना होंगचुन, नवलपुर कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको छ ।

पहिचान भएका शवलाई पोस्टमार्टम गरी आज आफन्तलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ । प्रशासनका अनुसार पहिचान नभएका शवलाई डिएनए परीक्षणको लागि काठमाडौं पठाइने छ ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०८:५९
हजुरको प्रतिक्रिया