पोखरा
पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवमा भतिजलाई हटाएर एकीकृत समाजवादी पार्टीका कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए ।
प्रदेश सरकार बनाएको स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनको खिलापमा स्वकीय सचिव नियुक्त गरिएको भन्दै आलोचना भएको थियो ।
ऐनले मेयरले नायव सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था भएकोमा अधिकृत सरह नियुक्त गरेका थिए । अहिले मेयर आचार्यले भतिजलाई हटाएर बुधबार लामालाई नियुक्त गरेका हुन् ।
मेयरले स्वकीय सचिव नियुक्त गर्ने निर्णय गरिसकेको भए पनि प्रमुख प्रशासकीय अधिकृत बुधबार बाहिर भएकाले बिहीबार मात्र पत्र थमाइने उनको सचिवालयले जनाएको छ ।
लामालाई सचिवालय प्रमुखका रुपमा नियुक्त गरिएको र त्यो कानुनबमोजिम नै गरिएको सचिवालयले जनाएको छ । लामा एकीकृत समाजवादी पार्टीको युवा संघको केन्द्रीय उपाध्यक्षसमेत हुन् । लामा पनि मेयर आचार्यसँगै एमाले त्यागेर एकीकृत समाजवादीमै आवद्ध भएका थिए ।
प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ०६:३९




