२०८३ साउन २१ गते बिहीबार

डाक्टरले गरे जीवित शिशुलाई मृत घोषणा

डाक्टरले गरे जीवित शिशुलाई मृत घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ५ गते बिहीबार १०:०३

दाहसंस्कारका लागि तयारी चल्दै गर्दा अकस्मात् शिशुका हातगोडा चलमलाएपछि परिवारले तत्काल विराटनगरकै गोल्डेन अस्पताल पुर्यायो जहाँ अहिले दिलीपकी १८ दिने छोरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

विराटनगर

विराटनगरस्थित कोसी अस्पतालले उपचारका लागि ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै मृत घोषणा गरेर घर फर्काइदिएको छ । मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो ।

आफू सम्हालिँदै र बिलौना गरिरहेकी पत्नीलाई सम्झाउँदै दिलीप छोरीलाई लिएर घर फर्किए । घरमा झन् धेरै रुवाबासी चल्न थाल्यो । दाहसंस्कारका लागि तयारी चल्दै गर्दा अकस्मात् शिशुका हातगोडा चलमलाएपछि परिवारले तत्काल विराटनगरकै गोल्डेन अस्पताल पुर्यायो जहाँ अहिले दिलीपकी १८ दिने छोरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सुरुमा सघन उपचार कक्ष (आइसियू)मा उपचार गरिएकोमा पछि भेन्टिलेटरमा सारिएको दिलीपले बताए ।

१७ पुसमा कोसी अस्पतालमै नर्मल सुत्केरी भएकी  उमा र छाेरी दुबै स्वस्थ रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । तर, बुधबार अचानक छोरीको श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्स चालकसमेत रहेका दिलीपले बिहान आमाछोरीलाई कोसीको आकस्मिक कक्षमा पुर्याएका थिए । कोसी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले घटनाबारे गहन रूपमा बुझ्दै गरेको गल्ती भएको भए अस्पतालले कानुनअनुसार कारबाही गर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उपचारका क्रममा चिकित्सकको त्रुटि भएको भए छानबिन गरेर विभागीय कारबाही गर्न अस्पताललाई निर्देशन दिएको बताए । जीवितै शिशुलाई मृत घोषणा गरेर घर पठाउने डा. यादवविरुद्ध आफन्तले आक्रोश पोखेका छन । यादवलाई कडा कानुनी कारबाहीको माग गर्दै दिनभर अस्पतालपरिसरमा आन्दोलित उनीहरूले कुटपिटसमेत गरेका छन्। कुटपिटबाट डा. यादव घाइते भएका छन् । आक्रमणमा संलग्न मनोज मुखिया, मन्नु मुखिया र अर्का एक नाम नखुलेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकोमापछि दुई पक्षको समझदारीमा छाडिएको छ ।   आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

प्रकाशित मिति २०७९ माघ ५ गते बिहीबार १०:०३
हजुरको प्रतिक्रिया