पोखरा
स्याङ्जाको वालिङ नगरपालिकामा फुटबट खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड गरेपछि क्याप्टेनमाथि कुटपिट भएको छ । वालिङ गोल्ड कपमा खेल जारी रहेका बेला प्रभुको हेलिकप्टर मैदानमा ल्याण्ड गरेपछि सुरु भएको भनाभनका क्रममा क्याप्टेन रनेश डंगोल र यात्रुमाथि कुटपिट भएको हो ।
माघ ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमीफाइनल खेलअन्तर्गत बिहीबार दिउँसो वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा चलिहरको थियो । वालिङ युनाइटेड क्लबको आयोजनामा भइरहेको गोल्डकपको खेल चलिरहेका बेला ४ यात्रुसहित हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो ।
खेल मैदानमा स्थानीय विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना यात्रु हेलिले झारेको थियो । खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर अलमलिएका आयोजक तथा खेलाडी यात्रु झारेपछि आक्रोसित बनेका थिए ।
‘के कारणले खेल चलिरहेका बेला मैदानमै हेलिकप्टर झारेको भनेर आयोजन, स्थानीय र खेलाडीबीच भनाभन भएछ । त्यही क्रममा धकेलाधकेल भएको हामीले जानकारी पायौं,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘कसैसँग पनि समन्वय छैन । भोलि त्यसको दुर्घटना भएको भए के हुन्थ्यो ? स्थानीय आक्रोशित हुनु अस्वभाविक देखिएन । तर, घटनाको अनुसन्धान भइरहेको छ ।’
स्थानीय, हेलिकप्टरका क्याप्टेन र यात्रुबीच भनाभनका क्रममा लफडा भएको उनले बनाए । ‘बिना जानकारी खेल चलिरहेको बेला किन हेलिकप्टर पठाइयो भनेर नागरिक उड्डयन प्राधिकरणलाई लेखेर पठाएका छौं,’ सिडिओ क्षेत्रीले भने, ‘यात्रु नझारी नहुने कारण के रहेछ अनुसन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु ।
बिना जानकारी लहडबाजीमा झार्न पाइँदैन । स्थानीयको सुरक्षाको कुरा पनि हुन्छ ।’ स्थानीयकाअनुसार वालिङ नै घर भएका ४ जना पोखरामा थिए र वालिङमा गोल्डकप चलिरहेको थाहा पाएपछि लहडमै हेलिकप्टर नै लिएर गएका हुन् ।
‘पोखरामा रक्सी खाएर रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलिकप्टर नै बुकिङ गरेर जाने सल्लाह गरेर उनीहरु पुगेका थिए,’ एक स्थानीयले भने, ‘उनीहरु वालिङका राम्रै परिवारका व्यक्ति हुन् ।’
खेल मैदानमा मै हेलिकप्टर उतारेपछि क्याम्टेन र यात्रुसँग स्थानीय र आयोजकले जवाफ मागेका थिए । त्यही क्रममा भनाभन हुँदा हातपात भएको र यात्रुलाईसमेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति २०७९ माघ ५ गते बिहीबार ०७:४७




