२०८३ साउन २१ गते बिहीबार

मानवसेवा आश्रमको भवन पुरा गर्न महायज्ञ

मानवसेवा आश्रमको भवन पुरा गर्न महायज्ञ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ६ गते शुक्रबार ०४:३२

भवन निर्माणमा ५ करोड रुपैयाँ खर्च भइसकेको अधिकारीले जानकारी दिए ।

पोखरा

सडक आश्रित मानवको उद्धारका लागि एक दशकअगाडि हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रम अहिले १९ जिल्लामा फैलिएको छ । २३ सेवा केन्द्रबाट देशैभरका सहयोगापेक्षीको उद्धार गरी पालनपोषण गर्दै आइरहेको मानव सेवा आश्रमले कास्कीमा १६३ जनालाई आश्रय दिइरहेको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनमा ६५ महिला र पोखरा–२५ हेम्जाबाट ९८ जना पुरुषलाई आश्रय दिएको छ ।

आश्रममा आश्रितका लागि मानवसेवा आश्रमले हेम्जाको बवियातारामा लक्ष्मीनारायण सनातन संस्कार गुठीले उपलब्ध गराएको ६३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन बनाउँदैछ । २५० जना क्षमताको भवन निर्माणमा आर्थिक अभाव भएपछि महायज्ञ सञ्चालनको तयारी गरिएको छ । माघ २० देखि २७ गतेसम्म महायज्ञ आयोजना गरेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

२०७७ जेठमा भवन निर्माण सुरु भएको थियो । ‘भवनको पहिलो तलाको निर्माण पुरा हुने चरणमा छ । दोस्रो र तेस्रो तलाको निर्माणसँगै डाइनिङ हल, स्टोर भवन, लिफ्ट, मेडिकल, थेरापी कक्ष निर्माण हुन बाँकी छ’, उनले भने ।
भवन निर्माणमा ५ करोड रुपैयाँ खर्च भइसकेको अधिकारीले जानकारी दिए । उनका अनुसार अझै ४ करोड रुपैयाँ आवश्यक छ । नपुग रकम संकलनका लागि महायज्ञ गर्न लागेको उनले बताए । भवन निर्माणपछि छोरेपाटनको भाडाको भवनबाट मुक्त हुने उनको भनाइ छ ।

पोखराको दुई स्थानमा सञ्चालित आश्रममा आश्रितहरुको पालनपोषण खर्च मात्रै मासिक १५ लाख रुपैयाँ बढी हुँदै आएको छ । ‘भवन निर्माण र आश्रमको पालनपोषणमा ४० प्रतिशत तीनै तहका सरकारको लगानी छ । ६० प्रतिशत परोपकारी मनहरुको सहयोग पाएका छौं’, अधिकारीले भने । सरकारको ७० प्रतिशत सहयोग अपेक्षा गरेको उनले सुनाए ।

महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमको समूहले संगीतमय कथा वाचन गर्नेछन् । महायज्ञबाट उठेको रकमले आश्रमको भवनसँगै लक्ष्मीनारायण मन्दिर निर्माण गर्ने उल्लेख गरिएको छ ।

लक्ष्मीनारायण मन्दिर निर्माणले हेम्जाको बवियातारा क्षेत्र आध्यात्मिक पर्यटनको केन्द्र बन्ने पोखरा महानगरपालिका–२५ वडाध्यक्ष मोतिलाल तिम्सीनाले बताए । ‘मानवहरुको आश्रयस्थलको रुपमा मात्र नभइकन धार्मिक पर्यटनका हिसाबले पनि अगाडि बढाउने लक्ष्य छ । यसले पोखरा महानगर वरपर महत्वपूर्ण भुमिका खेल्नेछ’, उनले भने ।

मानवसेवा आश्रमले केही समय अगाडि मात्रै पोखरा लगायत देशका विभिन्न सहरमा ‘मानवताका लागि सांगीतिक यात्रा’ गरेको थियो । मानवसेवा आश्रमले २०८३ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवरहित मुलकु बनाउने लक्ष्य राखेको छ । गण्डकी प्रदेश भने गत वर्षको मंसिरमा नै सडक मानवमुक्त प्रदेश घोषणा भइसकेको छ ।

प्रकाशित मिति २०७९ माघ ६ गते शुक्रबार ०४:३२

हजुरको प्रतिक्रिया