पोखरा
तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन ३ खेल हुने खेल तालिका सार्वजनिक गरिएको छ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा महिला टोली त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड आमनेसामने हुनेछन् । आइतबार विहान १० बजे यि २ टिम जितको खोजीमा मैदान छिर्नेछन् ।
दोस्रो खेलमा पुरुष टोली त्रिभुवन आर्मी र शसस्त्र प्रहरी बलको एपीएफ भिड्नेछन् । दुई खेलपछि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जानकारी दिएको छ ।
प्रतियोगिताको उद्घाटन पश्चात पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले खेल्नेछन् ।
पुरुषतर्फ एक विदेशीसहित ५ टिमले प्रतिस्पर्धा गर्ने टाइगर ग्रुफ अफ पोखरा नेपालका सचिव डिबि नेपालीले जानकारी दिए । उनका अनुसार श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुव आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ र गण्डकी प्रदेश सहभागी हुदैैँछन् ।
महिलातर्फ पहिले आउने भनिएका २ टिम अनुपस्थित हुने भएका छन् । प्रतियोगिताको अन्तिम समयमा आएर नेपाल पुलिस क्लबले सहभागिता नजनाउने जानकारी गराएको छ । ‘खेलाडीहरु घाइते भएका कारण प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी दिएको छ । महिलातर्फ ४ टिमलाई मात्रै सहभागिता गराउदैछौं’, उनले भने, ‘यति एयरको विमान दुर्घटनाका कारण विदेशबाट आउने भनेको भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड पनि अन्तिम समयमा नआउने भएको छ ।’

२ टिम अनुपस्थित हुने भएपछि महिलातर्फ पनि गण्डकीको टिमलाई मैदान उतार्न लागिएको छ । गण्डकीको महिला टिममा ३ जना राष्ट्रियस्तरका भारतीय खेलाडी समावेश गर्दै राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिनेछ ।
प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन हुने टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए ।
प्रतियोगिताको उपाधी विजेता टिमले ५÷५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले २ लाख ५० हजार रुपैयाँ, तेश्रोले १ लाख २५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत हुनेछन् । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकले १० हजार पाउनेछन् । प्रतियोगिता माघ १४ गतेसम्म चल्नेछ ।
दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपीएफले उपाधि जितेका थिए ।
प्रकाशित मिति २०७९ माघ ७ गते शनिबार ०५:२५




