२०८३ साउन २१ गते बिहीबार

चाेरी भए पोखरा रंगशालामा शौचालयका धारा टुटी

चाेरी भए पोखरा रंगशालामा शौचालयका धारा टुटी

विकास मगर

@Bikashh1997

२०७९ माघ ९ गते सोमबार ०२:०४

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पोखरा रंगशालामा अत्याधिक चोरी र तोडफोडका घटना बढ्दै गएको स्वीकारे । उनले यसमा रंगशाला व्यवस्थापन पक्षकोमात्रै नभई इभेन्ट आयोजक, खेलाडी र खेलप्रेमी सबैमा चेतनाको कमी रहेको सुनाए ।

पोखरा

पोखरा रंगशालाको व्यवस्थापन तथा सुरक्षामा ध्यान नदिँदा त्यहाँ भएका अधिकांश शौचालयका धारा चोरी भएका छन् । शौचालयमा धाराका टुटी नभएर काम नहुँदा खेलाडी तथा खेल दर्शकले सास्ती भोग्नु परिरहेको छ ।

यसको श्रृंखला २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपदेखि सुरु भएको थियो । आहारारा पोखरा गोल्डकप खेलका दौरान रंगशालास्थित फुटबल स्टेडियमका शौचालयबाट ११ वटा धाराका टुटी चोरी भएको थियो ।

जसको मूल्य आहारारा पोखरा गोल्डकप आयोजकले करिब २३ हजार रुपैयाँ तिरिसकेको छ । आयोजक सहाराले चोरी भएका धारा पुनर्जडान गरिदिएको हो ।

अहिले रंगशालास्थित भलिबल कोर्टमा तेस्रो टाइगर कप सञ्चालन भइरहेको छ । कोर्ट नजिकै रहेको शौचालयबाट पनि दर्जन बढी धाराका टुटी गायब छन् । जसका कारण त्यहाँ पुगेका खेलाडी दर्शक तथा आयोजकसमेतले सास्ती खेप्नु परिरहेको छ ।

प्रदेश खेलकुद परिषद्ले त्यहाँ शौचालय बनाइदिएको थियो । त्यहाँ रहेको महिला तथा पुरुष दुवै शौचालयका धाराका टुटी चोरी भइसकेका छन् । रंगशाला व्यवस्थापन पक्षले त्यहाँबाट कहिले धाराका टुटी हराएको भन्ने भेउ नै पाउन सकेको छैन ।

‘मैले पनि हिजो (आइतबार)मात्रै चोरी भएको थाहा पाएको हुँ, कहिले चोरी भएको थाहा भएन,’ जिल्ला खेलकुद परिषद्का अध्यक्ष तोरण बानिया भन्छन् ।
चोरी भएका क्षेत्रमा सिसिटिभी क्यामेरासमेत छैन ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पोखरा रंगशालामा अत्याधिक चोरी र तोडफोडका घटना बढ्दै गएको स्वीकारे । उनले यसमा रंगशाला व्यवस्थापन पक्षकोमात्रै नभई इभेन्ट आयोजक, खेलाडी र खेलप्रेमी सबैमा चेतनाको कमी रहेको सुनाए ।

‘१३ औं सागपछि कुन दुखले रंगशाला बनायौं । यो बचाउनुपर्छ भन्ने सबैको दायित्व हो, जिम्मेवारी हो । त्यो बुझिदिएनन्,’ गुरुङले भने, ‘रंगशालामा १७, १८ वटा शौचालय छ । सबैमा केही न केही हराएको छ, कहीं तोडफोड भएको छ ।’

बोर्ड सदस्य गुरुङका अनुसार रंगशाला हेरचाह गर्न चौकीदारको कमी छ । अहिले रंगशाला व्यवस्थापनका लागि ३ जना कर्मचारी खटिएका छन् । तर, कार्यव्यवस्तताका अनुसार सबै ठाउँमा हेर्न नभ्याउने भएकाले थप कर्मचारी माग गरिएको उनले जानकारी दिए ।

‘अहिले बिहान ५ बजेदेखि २ बजेसम्म एउटाले त्यसपछि साँझसम्म एउटा र पछि अर्कोले हेर्ने सिफ्ट बनाएका छौं । तर, सबैले सबैतिर हेर्न भ्याउँदैनन्,’ गुरुङले भने, ‘अहिले सदस्य सचिवसँग थप २ जना चौकीदार थप्न माग गरेको छु । छलफल चलिरहेको छ ।’

तत्कालका लागि रंगशालाको सुरक्षाका लागि त्यहाँ लाहुरे भर्तीको तयारी कक्षा चलाउने कम्पनीहरुसँग सल्लाह गरिरहेको गुरुङले जानकारी दिए । त्यसबाहेक रंगशाला प्रवेशमा पनि समय तालिकाको नियम बनाउन लागेको उनले सुनाए ।

‘अब जाडोमा ५ र गर्मीमा ७ बजेपछि रंगशाला गेट बन्द हुन्छ । मान्छे आउजाउ गरे पनि सवारी साधन पूर्ण रुपमा बन्द गर्ने भनेका छौं,’ गुरुङले भने, ‘यो सबै रंगशालाको संरचना जोगाउनलाई नै हो । त्यस्तो केही भइहाल्यो भने नजिकै प्रहरी चौकी छ, हामी सहकार्य गर्छौं ।’

प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार ०२:०४
हजुरको प्रतिक्रिया