पोखरा
२०७४ सालमा एमाले–माओवादी मिलेर चुनाव लड्दा मादी गाउँपालिकाको अध्यक्ष चुनिएका वेदबहादुर गुरुङले यसपटक प्रदेश सभाको टिकट हात पार्दा सबैले भन्थे, ‘गाह्रो छ ।’ नेपाली कांग्रेस, नेकपा माओवादीसहित ५ दलीय गठबन्धनबाट गगन रोजेका पात्र दीपक गुरुङ उनको प्रतिस्पर्धामा थिए । पर्दाहरुमा हिट भएका गुरुङ फिल्मका नायक वेदवबहादुर गुरुङ जनताका बीच पनि लोकप्रिय नै थिए र उनलाई जिताइदिए । कांग्रेसका दीपक ‘माइला’लाई करिब ९ सय ६७ मतले हराउँदै श्याम कास्की–१ (२) बाट निर्वाचित भए ।
मादी गाउँपालिकाको अध्यक्ष भएर काम गरेपछि उनले पनि खगराज अधिकारीसँगै प्रदेशको टिकट पाएका थिए । खगराज मुख्यमन्त्री हुने अभिप्रायले प्रदेश झर्दा अघिल्लो निर्वाचनमा कास्की–१ (२) बाट जितेका मनबहादुर गुरुङले संघको टिकट पाएर र श्यामले प्रदेशको टिकट पाएका थिए ।
सांसद जिते सकेपछि पनि कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन कायमै भएकाले एमाले प्रतिपक्षमा बस्ने भएकाले वेदबहादुर मन्त्री हुने सोचेकै थिएनन् । एकाएक सत्ता समीकरण परिवर्तन भएर खगराज अधिकारी मुख्यमन्त्री हुने भएपछि र भइसकेपछि पनि आकांक्षी धेरै हुँदा वेदबहादुरले मन्त्री पाउने आशा गरेकै थिएनन् ।
खगराज र वेदबहादुर कास्की–१ कै भएकाले एउटै क्षेत्रबाट २ जना मन्त्री नहुने धेरैले बताएका थिए भने अर्कोतर्फ एमालेबाटै धेरै जना केन्द्रीय सदस्यसमेत रहेका सांसदहरु नै कसरतमा थिए । त्यसैमाथि खगराजले मन्त्रालयको संख्या १२ बाट घटाएर ७ मा झारेका थिए । कास्कीबाट एक जना मन्त्री बनाउन अन्तिममा वेदबहादुर र गणेशमान गुरुङको नाम थियो । गणेशमान अशोक राइहरुसँगै एमालेबाट अलगिएर जनता समाजवादी पार्टीका गण्डकी इन्चार्ज भएर स्थानीय तहको चुनावअघि फेरि एमालेमै फर्किएका थिए ।
गणेशमानले नै मन्त्री पाउने अनुमानलाई गलत सावित गर्दै खगराजले एउटै क्षेत्रका वेदबहादुरलाई रोजेका छन् । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्रतिष्ठाको लडाईं चल्दा पनि वेदबहादुर अधिकारीकै साथमा थिए । वेदबहादुरलाई मन्त्री बनाउँदा सहज पनि हुने भएपछि खगराजले मन्त्रीको नाम टुंगो लगाए । पोलिटब्युरो सदस्य लिलबहादुर थापा, केन्द्रीय नेतृ पद्मा जिसी, केन्द्रीय सदस्य गोविन्द नेपाली लगायतले मन्त्री हुन कसरत गरिरहँदा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य वेदबहादुरले उछिनेका छन् ।
राजनीति र कलाकारिता पनि सँगै गरेका वेदबहादुर गुरुङ फिल्म लेखन, निर्देशन र नायकसमेत हुन् । २०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका श्यामले गोठालो चलचित्रमा अभिनय पनि गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य उनैले गरेका हुन् । युक्त गुरुङले गाएको यो गीत धेरै चर्चित छ ।
आफ्नै निर्देशनमा उनले ‘हाम्रो गाउँघर’ नामक गुरुङ चलचित निर्माण गरेका छन् । गुरुङ फिल्म एसोसिएसनको पूर्व अध्यक्षसमेत रहेका श्याम पर्यटकीय गाउँ ताङतिङका हुन् । २०४५ सालमा विद्यार्थी आन्दोलनबाट कम्युनिष्ट राजनीतिमा आकर्षित भएका श्यामका बुबा भने कांग्रेस थिए । उनीका बुबा नेपाली कांग्रेसबाट बुबा टेकशाही गुरुङ नेपाली कांग्रेसबाट तत्कालीन नामर्जुङ गाविस अध्यक्षसमेत भएका थिए । अभिभावक नै कांग्रेसको जनप्रतिनिधि भए पनि वेदबहादुर भने कम्युनिस्ट राजनीतिमा आकर्षित भए । उनका काका दीपक गुरुङ कांग्रेसबाटै सांसदसमेत भएका थिए ।
२०४५ सालमा अनेरास्ववियु एकताको पाँचौ प्रारम्भिक कमिटी सदस्य लिएका श्याम अनेरास्ववियु कास्की जिल्ला कमिटी सदस्य हुँदै राजनीतिक उकालो चढ्दै गए । २०५८ सालमा एमालेको कास्की जिल्ला इलाका–५ को सचिव पनि भए । २०६६ सालमा नेकपा एमाले सचिवालय सदस्य बनेका श्याम २०६७ मा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचित भए । २०६८ मा अञ्चल कमिटी, २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुँदै श्याम अहिले सचिवालय सदस्य छन् ।
२०७४ सालमा मादी गाउँपालिकाको अध्यक्ष भएर काम गरेका श्यामले कृषि तथा जलस्रोत मन्त्रालय (कृषि तथा पशुपंक्षी, ऊर्जा, सिँचाइ र खानेपानी) पाएका छन् । गाउँपालिकाको अध्यक्ष भएर काम गरेको अनुभव पनि भएकाले उनले मन्त्रीका रुपमा पनि राम्रो काम गर्न सक्ने एमाले नेताहरु बताउँछन् ।
प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार १२:०८




