२०८३ साउन २१ गते बिहीबार

गुणस्तरीय काम निकाल्न ‘लौरी पालो’

गुणस्तरीय काम निकाल्न ‘लौरी पालो’

सुमन जङ्ग थापा

@Public 4K Tv

२०७९ माघ ११ गते बुधबार ०७:३४

गाउँलेले बनाएको उपभोक्ता समिति मार्फत निर्माणाधीन हाइवेदेखि स्वास्थ्य चौकी नाली निर्माण योजनाको लौरी पालो लगाएर कामको रेखदेख गर्न थालेका हुन् ।

पर्वत

गाउँका विकास आयोजनाका कामहरू गुण्स्तरहिन र समयावधि बढी लाग्ने स्थिती भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवाका स्थानीयहरू जागरूक बनेका छन् ।

गाउँलेले बनाएको उपभोक्ता समिति मार्फत निर्माणाधीन हाइवेदेखि स्वास्थ्य चौकी नाली निर्माण योजनाको लौरी पालो लगाएर कामको रेखदेख गर्न थालेका हुन् ।

नेपाली परम्परागत प्रचलन अनुसार कुनै कुराको संरक्षण तथा रेखदेखका लागि लौरो लिएर आलोपालो रेखदेख गर्नुलाई लौरी पालो भनिन्छ । स्थानीय उपभोक्ता लक्ष्मण पौडेलले स्थानीय राजनीतिक दल, समाजसेवी तथा प्रभावित उपभोक्ताहरूको सहमतिमा लौरी पालो अभियान सञ्चालन गरिएको बताए ।

‘पूर्वाधार निर्माणका काममा निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्ने हुँदा बनेका संरचनाहरू केही महिनामै प्रयोग विहीन हुने अवस्था र गुनासाहरू हामीले देख्दै र सुन्दै आएका हौँ’, पौडेलले भने, ‘निर्माणको समयमा उपभोक्ताहरू जागरूक नहुँदा विकासका काम टिकाउ नभएको कुरालाई आत्मसाथ गर्दै हामी पालो लगाएर कामको रेखदेख गर्ने गरेका छौँ ।’

नाली निर्माणको काममा प्राविधिक नियम अनुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा मिलाएर मजदुरलाई काममा लगाउने गरी उपभोक्ताहरूले अनुगमन गर्ने गरेको स्थानीय दिनेश सुबेदीले बताए ।

गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वत मार्फत ३० लाखको लागतमा नाली निर्माण योजना सुरु भएका हो । दैनिक ४ देखि ५ जना स्थानीय उपभोक्ताहरू निर्माण कार्यको अनुगमनमा खटिने गरेका छन् । उपभोक्ताहरूले सुरुदेखि नै लौरी पालो लगाएर कामको अनुगमन तथा रेखदेख गर्न थालेपछि निर्माण कार्य गुणस्तर भएको स्थानीयवासीको बुझाई छ ।

पूर्वाधार विकास कार्यालय मार्फत काम भए पनि प्राविधिक रूपमा हुनुपर्ने अनुगमन नभएको स्थानीय कुलप्रसाद पोखरेलले गुनासो गरे । ‘यति ठुलो बजेटको काम भइरहँदा पूर्वाधार विकास कार्यालयबाट प्राविधिक सहित कामको परीक्षण भएको छैन’, उनले भने, ‘कामको गुणस्तर मापनका लागि उपभोक्ताले खबर गरेपछि मात्रै आउने गर्छन् ।’

प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार ०७:३४
हजुरको प्रतिक्रिया