२०८३ साउन २१ गते बिहीबार

टाइगर कप भलिबलः उपाधि होडमा गण्डकी र एपीएफ

टाइगर कप भलिबलः उपाधि होडमा गण्डकी र एपीएफ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १३ गते शुक्रबार ०७:१८

गण्डकीले सेमिफाइनलमा साविकको विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि होडमा पुगेको हो ।

पोखरा

तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’ मा गण्डकीले सेमिफाइनलमा साविकको विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि होडमा पुगेको हो ।

गण्डकीले विभागिय टिम आर्मीको चुनौतीलाई चिर्दैै फाइनल प्रवेश गरेको छ । पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१६ अंकमा जितेको हो ।

प्रतियोगितामा अपराजित एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । एपिएफले पहिलो सेट २५–१०, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले जित्दै घरेलु टोली गण्डकीसंग उपाधिका भिडन्त पक्का गरेको हो । उपाधि भिडन्त शनिबार हुनेछ ।

पहिलो संस्करणको विजेता गण्डकीले फाइनलमा एपीएफलाई पराजित गर्न सकेको खण्डमा दोस्रोपल्ट इतिहास रच्नेछ । एपीएफले जितेमा पनि इतिहास बन्नेछ । तेस्रो र चौथो स्थानका लागि सेमिफाइनलमा पराजित नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्बल शनिबार नै खेल्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ ५ टिम सहभागी थिए । विदेशी टिम श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिसकेको छ ।

 

महिला तर्फ न्यु डायमण्ड तेस्रो

महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेश न्यू डायमण्डसंग ३–० को सोझो सेटमा पराजित भएको छ । विभागीय टिम नेपाल पुलिस क्बल र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड अन्तिम समयमा अनुपस्थित हुने जानकारी गराएपछि गण्डकीको महिला टिमलाई मैदान उतारिएको हो । भारतका ३ जना राष्ट्रियस्तरका खेलाडी गण्डकीको महिला टिमबाट खेलेपनि प्रतियोगिताको कुनैपनि खेलमा जित निकाल्न सकेन ।

शुक्रबार भएको खेलमा न्यु डायमण्डले गण्डकीलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त ग¥यो । ४ टिम सहभागी महिलातर्फको उपाधिका लागि एपिएफ र नेपाल आर्मी भिड्नेछन् ।

प्रतियोगिताको विजेता महिला पुरुष टिमले ५÷५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ र चौथौले ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०÷१० हजार हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफ च्याम्यिन बनेका थिए । पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्बलले उपाधि कब्जा गर्दा पुरुषतर्फको उपाधि घरेलु टिम गण्डकीले रक्षा गरेको थियो ।

प्रकाशित मिति २०७९ माघ १३ गते शुक्रबार ०७:१८
हजुरको प्रतिक्रिया