पोखरा
गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधि जितेको हो ।
कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १÷१ गोल गरे । टिकाले खेलको ३५ औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाए । दोस्रो हाफको ८७ औं मिनेटमा सज्जनले गोल गर्दै कालिकाको अग्रता दोब्बर बनाए ।
भद्रकालीले गोल फर्कान नसकेपछि कालिकाले प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । उपाधिसँगै कालिकाले ट्रफिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भद्रकालीले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले १५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे ।
विजेता र उपविजेता टिमका खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले पुरस्कृत गरे ।
प्रकाशित मिति २०७९ माघ १३ गते शुक्रबार ०७:४६




