पोखरा
टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकीले उचालेको छ । शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा गण्डकीले विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफलाई ३–२ को सेटमा पराजित गर्दैै उपाधि रक्षा गरेको हो ।
घरेलु मैदानमा हजारौं दर्शकको भरपुर साथ पाएको गण्डकी पहिलो सेटमा एपीएफसँग २५–१६ को फराकिलो अन्तरमा स्तब्ध बन्यो । दोस्रो सेटमा दर्शकको उत्साहलाई उर्जामा बदल्दै गण्डकीले २५–१८ को जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि गण्डकीले रोमाञ्चक जीत हािसल ग¥यो । गण्डकीले एपीएफलाई २५–१९ मा रोक्न सफल भयो ।
चौंथो सेटमा केहीबेर अग्रता लिएको गण्डकीले अन्तिम समयसम्म विभागीय टोली एपीएफलाई रोक्न सकेन । खेलको अन्तिम समयमा उत्कृष्ट पुनारागमन गर्दै एपीएफले २८–२६ को जित हासिल गर्दा गण्डकीका समर्थक निराश बने ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको चौंथो सेटमा गण्डकीका दर्शक र एपीएफका खेलाडीबीच बोत्तल हानाहान हुँदा केही बेर खेल रोकियो । दर्शक उत्तेजित भएर सिर्जना भएको तनावग्रस्त स्थितीलाई नियन्त्रणमा लिन आयोजकलाई नै हम्मेहम्मे प¥यो । सुरक्षाकर्मी र आयोजकको सुरक्षा घेरामा भएको चौंथो सेट एपीएफले जित दर्ता गराउदैं उपाधि जित्ने आश उपस्थित समर्थकलाई जगायो ।

तर, पाँचौ सेटमा एपीएफलाई फराकिलो अन्तरले पराजित गर्दै गण्डकीले उपाधि रक्षा गर्न सफल भएको छ । उपाधिसँगै गण्डकीले ५ लाख रुपैयाँको साथमा ट्रफि प्राप्त गरेको छ । पहिलो पटक उपाधि होडमा पुगेको एपीएफ घरेलु टोलीसँग स्तब्ध हुँदै २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । गण्डकीले उपाधि मात्रै रक्षा गरेन विभागीय टिमलाई टक्कर दिने साम¥र्थय राख्छ भनेर फेरि प्रमाणित गरिदिएको छ ।
गण्डकी पहिलो संस्करणको विजेता पनि हो । त्यतिबेला अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि विजेता बनेको थियो ।
यो संस्करणको सेमिफाइनलमा गण्डकीले दोस्रो संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । एपीएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीसँग उपाधि भिडन्त पक्का गरेको थियो ।
शनिबार भएको तेस्रो स्थानको खेलमा दुई विभागीय टोली पुलिस र आर्मी भिडेका थिए । साविकको विजेता आर्मीलाई पुलिसले ३–१ को सेटमा हराउदै तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।
तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ र चौंथो स्थान प्राप्त गरेको आर्मीले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
राउण्ड रोविङको आधारमा भएको प्रतियोगितामा विदेशी टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिसकेको थियो । तीन विभागीय टोली, एक विदेशी टोली र घरेलु टोली गण्डकीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
महिलातर्फको उपाधि शसस्त्र प्रहरी बलको एपीएफले उचालेको छ । शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै एपीएफले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि रक्षा गरेको हो ।
एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ प्राप्त गर्दा आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
उपाधि विजेता एपीएफ साविकको बिजेता पनि हो । गत संस्करणमा पनि फाइनलमा एपीएफ र आर्मी नै भिडेका थिए । आर्मीलाई ३–० को सोझो सेटमा रोक्दै एफीएफ च्याम्पियन बन्योे ।
पहिलो संस्करणमा एपीएफलाई उपाधि होडमा पुलिसले रोकेको थियो । पुलिससँग ३–० को सोझो सेटमा हारेको एपीएफले त्यसपछिका लगतार दुई संस्करण जित्दै इतिहास रच्न सफल भएको हो ।
तेस्रो स्थान न्यु डायमण्डले प्राप्त गरेको छ । तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेशलाई न्यू डायमण्डले ३–० को सोझो सेटमा पराजित गरेको थियो ।तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ र ४ टोली सहभागी खेलमा चौथौं स्थान प्राप्त गर्दा गण्डकीले ६५ हजार रुपैयाँ पाएको छ । कुनै बेला विभागीय टोलीसमक्ष हावी हुने गण्डकी यो प्रतियोगितामा निकै कमजोर देखियो ।
प्रकाशित मिति २०७९ माघ १४ गते शनिबार ०६:२३




