२०८३ साउन २१ गते बिहीबार

जितु र साम्राज्ञीले खेलाडीसँग फोटो खिचाए, ब्रेकमा नाचे

जितु र साम्राज्ञीले खेलाडीसँग फोटो खिचाए, ब्रेकमा नाचे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १४ गते शनिबार ०९:१८

४ हजार बढी दर्शकले भरिभराउ पोखरा रंगशालाको भलिबल कोर्टमा पुगेर फिल्म युनिटले फिल्म हेर्ने निम्तो बाँडेका छन् ।

पोखरा

प्रर्दशनको संघारमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’ युनिट प्रचारप्रसार गर्न यतिबेला मोफसल टुरमा छ । यो फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

फिल्म युनिटले दर्शकसँग भेटघाट गर्दै प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ । शनिबार फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टिम प्रचारप्रसारका लागि पोखरा आएका छन् ।

जितु र साम्राज्ञीसहित फिल्मका निर्देशक डा.कपिल रिजाल, गायक सपनकुमार राई लगायत आएका हुन् । जितु र साम्राज्ञीले पोखरामा सम्पन्न तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेलमा पुगेर फिल्मको प्रचार पनि गरे ।

४ हजार बढी दर्शकले भरिभराउ पोखरा रंगशालाको भलिबल कोर्टमा पुगेर फिल्म युनिटले फिल्म हेर्ने निम्तो बाँडेका छन् । फिल्म युनिट अतिथि बस्ने स्टेजको अग्रभागमा थिए ।

पुरुषतर्फको फाइनल खेल हुनु अघि उद्घोषकले फिल्मका अभिनेता जितुलाई केहीबेर दिए । त्यसपछि उनले भलिबल हेर्न आएका दर्शकलाई आफ्नो फिल्म हेर्न आएका हाउसफुल दर्शकको रुपमा अथ्र्र्याउँदै फिल्मको प्रचार गरे ।

आफू भलिबलको असाध्यै ठूलो प्रशंसक भएको भन्दै खेलाडी र दर्शकलाई फुर्काए पनि । उनले भने, ‘म सिन्धुपाल्चोकको मान्छे, स्कुलमा मज्जैले भलिबल खेलेको मान्छे भन्दा नि हाँसो उठ्छ होला नि त तपाईंहरुलाई । यहाँ धेरै खेलाडीलाई भलिबल खेल्न उफ्रिरहन पर्छ सट हान्नका लागि । नेटभन्दा माथि हात पु¥याउनैपर्छ, जम्प गर्नपर्छ, उफ्रिनुपर्छ । मैले कहिल्यै जम्प गर्न परेन । जति उफ्रिएनी नभेटिने भएपछि किन उफ्रिरहनुप¥यो ?’

नायिका साम्रज्ञी भने धेरै बोलिनन् । उनले भनिन्, ‘धेरै भनिराख्नुपर्दैन जस्तो लायो । हामी हजुरहरुको गेम हेर्न आएको हो । त्यही मौकामा हामीले हजुरहरुलाई आफ्नो मुभि पनि आउँदैछ भनेर सुनाउन आको हो । ह्यारीकी प्यारी, माघ २० गते यही फ्राइडे ।’ उनले खेलाडीलाई शुभेच्छा व्यक्त गरिन् ।

ह्यारीकी प्यारी टिमले फाइनल खेल सुरु हुनु अघि खेलाडी, प्रशिक्षक, रेफ्रीसँग साक्षात्कार गरे । खेलाडी र अतिथीसँग फोटो खिचाए । खेलको ब्रेकमा फिल्ममा समावेश ‘धरहरा’ बोलको गीतमा जितु र साम्राज्ञीले नाच्दै दर्शकलाई नचाए । फाइनल खेल नसकिदैं ह्यारीकी प्यारी युनिट निस्कियो ।

आइतबार बिहान ह्यारीकी प्यारी टिमले पोखरामा पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी दिनेछ । जितु र साम्राज्ञीसँगै फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई लगायतका कलाकारको अभिनय छ । अभिनेत्री रेखा थापा विशेष भूमिकामा छन् ।

कमेडी जनराको फिल्ममा सम्झौता गरेर भएको विवाहले निम्ताएको समस्यालाई देखाउन खोजिएको छ । सार्वजनिक भइसकेको फिल्मको ट्रेलरमा वीर्यदानको विषय उठाइएको छ । फिल्मको निर्माता स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल हुन् । फिल्मको छायांकन पर्वतको भुकदेउराली र काठमाडौंमा गरिएको हो ।

तस्विर सौजन्यः विवि रोका मगर

प्रकाशित मिति २०७९ माघ १४ गते शनिबार ०९:१८
हजुरको प्रतिक्रिया