पोखरा
अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ देखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पार्किङ शुल्क ठेक्काबिनै एक निजी कम्पनीको जिम्मा लगाइएको खुलेको छ । हाल विमानस्थलमा मनोज निर्माण सेवाले पार्किङ शुल्क उठाउँदै आइरहेको छ ।
तर, उक्त ठेकेदार कम्पनीले पुरानो एअरपोर्टमा पार्किङ शुल्क उठाउने जिम्मा पाएको थियो । उक्त ठेकेदार कम्पनीले नयाँ विमानस्थलमा पुरानो विमानस्थलभन्दा झन्डै तेब्बर पार्किङ शुल्क उठाउँदै आइरहेको छ ।
पुरानो एअरपोर्टमा दुई पांगे्र सवारी साधनको १० रुपैयाँ पार्किङ शुल्क तिर्दै आएका सेवाग्राहीले एक्कासि प्रतिघन्टा ३० रुपैयाँ तिर्नुपरेपछि आक्रोशित छन् । उनीहरुले पार्किङ शुल्कबाटै विमास्थलको ऋण तिर्ने हो ? भन्दै प्रश्न गर्न थालेका छन् ।
सेवाग्राही तथा यात्रुले नयाँ विमानस्थल सञ्चालनमा आएसँगै दैनिक ७ सय २० रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
विमानस्थलमा पार्किङ गरेवापत मोटरसाइकल, स्कुटर, रिक्सा प्रतिघन्टा ३०, प्रतिदिन १८० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, कार, जिप, टेम्पो आदि पार्किङ गरेको प्रति घन्टा ६०, प्रतिदिन ३ सय ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, हल्का सवारीसाधन मिनी बस, माइक्रो आदि प्रति घन्टा ८० र प्रति दिन ४ सय ८० रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । गह्रौं सवारीसाधनजस्तै बस, ट्रक १२० र प्रतिदिन ७ सय २० रुपैयाँ तिर्नुपर्छ ।
विमानस्थलमा प्रवेश गरेको पनि महंगो पटके पार्किङ शुल्क बुझाउनु परेपछि ट्याक्सी धनीलेसमेत भाडासमेत वृद्धि गरेका छन् । यात्रुलाई लिएर विमानस्थल छिर्दा नै ६० रुपैयाँ बुझाउनुपरेपछि सोहीअनुसार भाडा वृद्धि गर्नु आफूहरुको बाध्यता रहेको चालक बताउँछन् ।
पुरानो पोखरा विमानस्थलमा मनोज निर्माण सेवाले मासिक ३५ हजार रुपैयाँ तिर्ने गरी सवारी शुल्क उठाउँदै आएको थियो । मनोजले साउनदेखि पुरानो विमानस्थलमा शुल्क उठाउन एक वर्षको ठेक्का पाएको थियो । तर, पुसमध्यबाट उडान नयाँ विमानस्थलमा सरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले नयाँ कम्पनी नआउँदासम्मका लागि विमानस्थलको पार्किङ व्यवस्थित गर्नका लागि अल्पकालीन रुपमा मात्रै मनोज निर्माण सेवालाई जिम्मा दिएको प्रष्टिकरण दिए । उनले ठेक्का प्रक्रियाबाट नयाँ कम्पनी नआउँदासम्म मनोजले नै पार्किङ शुल्क उठाउने जानकारी दिए ।
‘मनोज निर्माण सेवा सँगको सम्झौता सकिएको छैन । त्यसैले अहिलेलाई अल्पकालीन रुपमा उसैले पार्किङ शुल्क उठाउने सहमति हो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले पब्लिकसँग भने, ‘नयाँ ठेक्का आह्वान गरिसकेका छौं । त्यहाँबाट नयाँ कम्पनी आएपछि उहाँहरुले स्वतः छोड्नुहुन्छ ।’
बल्ल नयाँ ठेक्का आह्वान
पुरानो ठेकेदार कम्पनीले पार्किङ शुल्क उठाइरहे पनि पुनः नयाँ ठेक्का आह्वान गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन कार्यालयले आइतबारको गोरखापत्रमा ५ वर्षका लागि ठेक्का आह्वान गरिएको छ ।
सूचनामा ५ वर्षका लागि १ करोड ६२ लाख ३३ हजार रुपैयाँ न्युनतम बोलकबोल रकम तोकिएको छ । बहाल रकममा हरेक २ वर्षमा १० प्रतिशतले वृद्धि हुनेसमेत सूचनामा उल्लेख छ ।
नयाँ विमानस्थलबाट मासिक २ लाख ७० हजार रुपैयाँ पार्किङवापत आम्दानी गर्ने विमानस्थलका राजश्व अधिकृत देवराज सुवेदीले जानकारी दिए । ‘पहिले र अहिले ठाउँ पनि फरक हो । ठूलो ठाउँमा एरिया र रेभेन्यु फरक हुने नै भयो,’ उनले भने, ‘यो रकम पनि एउटा समिति गठन गरेर त्यसले दिएको प्रतिवेदनमा आधारित रहेर तोकिएको हो ।’
नयाँ विमानस्थलमा बोलकबोल रकम धेरै र ठाउँ पनि त्यहीअनुसार ठूलो भएकाले पार्किङ शुल्क महंगो पर्न जाने विमास्थलको भनाइ छ ।

प्रकाशित मिति २०७९ माघ १५ गते आइतबार ०१:१३




