२०८३ असोज २३ गते शुक्रबार

‘फूलबारी’ मा पारिवारिक उतारचढाव

‘फूलबारी’ मा पारिवारिक उतारचढाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १६ गते सोमबार ०१:४०

विपिन र अरुणा दम्पत्तीको भुमिकामा देखिएको फिल्मको ट्रेलरले परिवारको बेमेल र आउने उतारचढावलाई देखाएको छ ।

पोखरा

आगामी फागुन ५ गतेबाट प्रर्दशन हुने फिल्म ‘फूलबारी’ का कलाकार प्रचारप्रसार गर्न पोखरा आएका छन् । प्रचारप्रसार गर्नलाई बुटवल हुँदै देश दौडाहामा निस्किएका फिल्मका कलाकारले सोमबार पोखरामा पत्रकार भेटघाट गरे । अभिनेता विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा लगायतको टोलीले पोखरामा भएको पत्रकार सम्मेलनमा सहभागीता जनाएर फिल्मबारे जानकारी दिए ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’ मा विपिन कार्की र अरुणा कार्की मुख्य भूमिकामा छन् । विपिन र अरुणा दम्पत्तीको भुमिकामा देखिएको फिल्मको ट्रेलरले परिवारको बेमेल र आउने उतारचढावलाई देखाएको छ ।

पत्रकार सम्मलेनमा पनि फिल्मका कलाकारले पारिवारिक कथामा तयार भएको बताए । अभिनेता विपिन कार्कीले भने, ‘फिल्म हेर्नेलाई आफ्नै घरको कथा महशुस गराउनेछ । आम नेपालीको व्यथा छ बाहिर जाने यसलाई पनि समेटेको छ ।’ हरेक परिवारमा घट्ने साना घटना, सम्बन्धमा आउने उतारचढावहरु फिल्मले देखाउने उनको भनाई छ ।

उनले आफूले चुनौतिपूर्ण चरित्र निभाएको बताउँछन् । हरिवंश आचार्य, राजेश हमाल नखेलेपछि आफुलाई निर्माण टिमले प्रस्ताव गरेको बताए । ‘च्यालेन्जिङ क्यारेक्टर थियो । रियल एज भन्दा पर गएर गर्नुपर्ने थियो । ट्रेलर सार्वजनिक भएपछि प्रतिकृया लिदा राम्रो पाइरहेको छु । सबैले सुहाएको छ भन्नुभएको छ’, उनले सुनाए ।

नायिका प्रिंयका कार्कीका अनुसार कुन सम्बन्ध कस्तो हुन्छ र कसरी असर गरिरहेको हुन्छ भन्ने परिवेशमा फिल्म तयार भएको हो । ‘सम्बन्धभित्र बसेका खुशीका कुराहरु, दुखका कुराहरु । तितामिठा कुराहरु सबै समेटेर माया, प्रेम, सम्बन्ध, दुख, सुख, सबै बोकेर परिवारको कथा लिएर अगाडी बढ्छ यो चलचित्र’, उनले भनिन् ।

शुक्रबार बुटवलबाट सुरु भएको देश दौडाहा पोखरामा हुँदै चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछ । फिल्मको टिमले पत्रकार भेटघाटसँगै कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एन्ड ग्रिट लगायतका प्रमोसन गर्ने जनाएको छ ।

फिल्ममा विपिन र अरुणसँगे प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल र अनुपम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यशोदा फिल्मस्को ब्यानरमा बनेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा, किशोर मलपानीको कथा रहेको छ । अमेरिकी छायाँकार जोस हेरमले फिल्म खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

कथाले मागेपछि पात्रलाई न्याय दिन सक्ने कलाकारमा पर्छन् अभिनेता विपिन कार्की । छड्के, पशुपतिप्रसाद, जात्रा, लुट–२, कालो पोथी, लालपूर्जा लगायतका फिल्ममा उनले निभाएको चरित्रलाई दर्शकले औंधी रुचाएका छन् ।

पशुपतिप्रसादको ‘भष्मे डन’ त उनले निभाएको चरित्र सर्वाधिक लोकप्रिय छ । युवापूस्ताको भुमिकामा देखिरहेका विपिन यसपटक ‘बा’ को चरित्रमा दर्शकमाझ आउँदैछन् । पारिवारिक कथामा निर्माण भएको फिल्म ‘फूलबारी’ मा उनले निभाएको वयोवृद्ध उमेरको भुमिका दर्शकले कत्तिको रुचाउनेछन् । त्यो भने फागुन ५ गतेपछि दर्शकले बताउँनेछन् ।

प्रकाशित मिति २०७९ माघ १६ गते सोमबार ०१:४०
हजुरको प्रतिक्रिया