२०८३ साउन २१ गते बिहीबार

असन्तृष्ट सदस्यले मागे चन्दकाे राजीनामा, अध्यक्षकाे मुड छैन !

असन्तृष्ट सदस्यले मागे चन्दकाे राजीनामा, अध्यक्षकाे मुड छैन !

विनाेद ढुंगाना

@Public 4K Tv

२०७९ माघ १७ गते मंगलबार ०८:२८

आफ्नै बोर्डका ७ सदस्यले नैतिकतामाथि प्रश्न उठाएपनि क्यान अध्यक्ष चतुरबहादुर चन्द राजीनामा दिने मुडमा देखिँदैनन् । न त उनी आरोप खण्डन गर्ने अवस्थामा छन् ।

पोखरा
नेपाल टि–२० लिगमा स्पट फिक्सिङ प्रमाणित भएपछि यतिबेला नेपाली क्रिकेट जगत बदनाम छ । सिआइबीको अनुसन्धान नेपाल क्रिकेट संघ क्यानतर्फ पनि सोझिन सक्ने संकेत पाएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघको बचाउ गर्दै कमीकमजोरी भएको स्वीकारे ।

भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्ससँग भएको सम्झौता गलत महसुस गर्दै उनले भनेका थिए, ‘जानी जानी गल्ती गरिएको छैन । तर, कमीकमजोरी भएको कुरालाई स्वीकार गर्नलाई म आफूलाई निचा महसुस गर्दिनँ ।’

तर, अध्यक्ष चन्दको त्यही स्वीकारोक्ति आफैंलाई भारी परेको छ ।

नेपाल टि–२० लिगमा भएको स्पट फिक्सिङमा गल्ती स्वीकारेका चन्दलाई क्यानका ७ जना असन्तृष्ट केन्द्रीय सदस्यले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् ।

सार्वजनिक कार्यक्रममै गल्ती स्वीकारेका अध्यक्ष चन्दले गरेको गल्तीको भागिदार आफूहरु जिकिर गरेका छन् ।

अध्यक्ष चन्दको राजीनामा माग गर्नेमा केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंह छन् ।

क्यानको बोर्ड बैठक बस्न पोखरा आएका उनीहरुले बैठक बस्नुअगावै अध्यक्षकै राजीनामा माग गर्दै लिखित रुपमै पत्र बुझाएका छन् । लिखित पत्र बुझाएर बैठकमा नबस्ने भनेपछि मंगलबार दिनभर क्यानको बैठक सुरु भएन ।

साँझ अबेलामात्रै बैठक सुरु गरियो । असन्तृष्ट पक्षले पत्रकार सम्मलेन गरेपछि बहुमत सदस्यले बैठक सुरु गरेर एजेन्डामाथि छलफल थालेका हुन् ।

असन्तृष्ट पक्षका ७ सदस्यले भने अध्यक्ष चतुरबहादुर चन्दले राजीनामा दिनुपर्ने पोखरामा आकस्मिक पत्रकार सम्मेलन गर्दै दोहो¥याए । अध्यक्षसहित ५ सदस्य रहेको कार्यसम्पादन समितिले पनि राजीनामा दिएर नेपाली क्रिकेटलाई मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको अडान छ ।

भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्ससँग भएको गलत सम्झौता विधि विधानविपरीत रहेको जानकारी दिँदादिँदै पनि एकतर्फी लागेर प्रतियोगिता गरेको केन्द्रीय सदस्य छुम्बी लामाले बताए ।

‘यसको परिणाम इतिहासमा नेपाल क्रिकेटलाई कलंकका रुपमा अध्यक्षज्यु, कार्य सम्पादन समितिले सावित गरेको छ’, लामाले भने, ‘त्यति मात्रै होइन गर्भिनिङ काउन्सिलमा लिगको टेक्निकली यो फ्रेन्चाइज लिगलाई कसरी सञ्चालन गर्ने नबुझ्ने मान्छेहरु भएर यो अवस्था आयो ।’

स्पट फिक्सिङले अन्तर्राष्ट्रिय जगतमा नेपाली किक्रेटको बदनाम भएको उनको जिकिर छ ।

उनले भने, ‘यो इतिहासको रेकर्ड हो । आज हाम्रा कीर्तिमानी खेलाडी, उदीयमान खेलाडीहरु पुलिसको हत्कडीमा बस्नुपरेको छ, हामीलाई दुखद लागेको छ । यो सबैको जवाफदेही नेपाल क्रिकेट संघको कार्यसम्पादन समिति र संघको नेतृत्व हुनुपर्छ ।’

अध्यक्ष चन्दले बारम्बार बहुमतको दम्भ देखाएर नेपाली किक्रेटलाई अन्धकारतर्फ धकेलिरहेको लामाको आरोप छ ।

अध्यक्ष चन्दको नेतृत्व र कार्यशैलीले नेपाली किक्रेट झन दलदलमा फसेको अर्का सदस्य ऋषिराम गौतमले आरोप लगाए । ‘अब उहाँहरु नेतृत्वदायी भूमिकामा बस्नुहुँदैन । जसले गल्ती ग¥यो उहाँहरु कारवाहीको भागिदारी हुनुपर्छ’, उनले भने ।

अध्यक्ष चन्दले नेपाली किक्रेटलाई सुधार गर्न नसक्ने उनको जिकिर छ । कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यले राजीनामा दिएर नेपाली क्रिकेटलाई जोगाउन मार्गप्रशस्त गर्नुपर्ने गौतमले बताए ।

पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवा, राष्ट्रिय पुरुष तथा महिला खेलाडीहरुको सन् २०२३ का लागि करार सम्झौता नविकरण, आईसीसी क्रिकेट विश्वकप यू–१९ एसिया छनोट, एसीसी प्रिमियर कप काठमाडौंमा अप्रिलमा गर्ने लगायतका विविध १७ एजेन्डामा छलफल गर्नलाई क्यानका अध्यक्ष चन्दसहित १६ जनाको टोली सोमबार पोखरा आएको हो ।

तर, पोखरा बैठक निकै विवादस्पद बनेको छ ।

एकातिर क्यानका असन्तृष्ट सदस्यले अध्यक्षको राजीनामा लिखित माग गरेका छन् । अर्कोतर्फ बहुमतको आधारमा अध्यक्षसहितको पदाधिकारी बैठक बसिरहेको छ ।

आफ्नै बोर्डका ७ सदस्यले नैतिकतामाथि प्रश्न उठाएपनि क्यान अध्यक्ष चतुरबहादुर चन्द राजीनामा दिने मुडमा देखिँदैनन् । न त उनी आरोप खण्डन गर्ने अवस्थामा छन् ।
बैठकस्थलमा फोटो खिच्न प्रवेश गरेका पत्रकारसँग छोटो जवाफ दिँदै अध्यक्ष चन्दले भने, ‘दोहोरी खेल्ने पक्षमा हामी छैनौं ।’

बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने अध्यक्षले उनले बताए ।

प्रकाशित मिति २०७९ माघ १७ गते मंगलबार ०८:२८
हजुरको प्रतिक्रिया