पोखरा
नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए ।
बलात्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो । गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दिपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागि बैठकले निर्णय गरेको हो
सन्दिपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । महान्यायाधिवक्ता कार्यालय पुस २८ गते उच्च अदालत पाटनबाट जारी भएको थुनछेक आदेशविरुद्ध सर्वोच्चमा गएको हो ।
सोमबार क्यानका १६ जना पदाधिकारी सहितको सदस्य बैठक बस्न पोखरा आएका छन् । तर, नेपाल टि–२० लिगको स्पट फिक्सिङमा अध्यक्ष चतुरबहादुर चन्दले गल्ती स्विकारेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग सहित ७ सदस्यले बैठक बहिष्कार गरेका छन् ।
मंगलबार साँझपख सुरु भएको बैठकले सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने सहित विभिन्न निर्णय गरेको छ । क्यानको निर्णयबारे बुधबार जानकारी गराउने जनाइएको छ ।
विविध १७ एजेन्डा लिएर क्यानको टोली पोखरा आएको हो । ऋषिराम गौतम, छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंहले भने बैठक बहिष्कार गरका छन् ।
प्रकाशित मिति २०७९ माघ १७ गते मंगलबार १०:४५




