२०८३ साउन २१ गते बिहीबार

एसपीलाई मुख्यमन्त्रीको निर्देशन : लेकसाइड एक बजेसम्म खोल्न सुरक्षा व्यवस्था गर्नू

एसपीलाई मुख्यमन्त्रीको निर्देशन : लेकसाइड एक बजेसम्म खोल्न सुरक्षा व्यवस्था गर्नू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २१ गते शनिबार १२:४२

मुख्यमन्त्री अधिकारीले कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीलाई लेकसाइड १२/१ बजेसम्म खोल्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

पोखरा । पोखरा लेकसाइडका व्यवसायीले आफूहरुलाई २४ घण्टा नै व्यवसाय गर्न दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँगको भेटमा पनि शुक्रबार यही कुरा राखेका थिए ।

पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष सूर्य भुजेलले मुख्यमन्त्री अधिकारीलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा उक्त गुनासो राखेका थिए । उनको गुनासो सुन्नेबित्तिकै मुख्यमन्त्री अधिकारीले कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीलाई लेकसाइड १२/१ बजेसम्म खोल्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । ‘लेकसाइडतिर आउनेलाई चेक गर्ने, यहाँबाट पर्वत, स्याङ्जा, दमौली जानेलाई गर्दैन रे,’ मुख्यमन्त्रीले एसपी केसीलाई भने, ‘अर्को कुरा त्यो ९ बजे नै सटर तान्ने होइन । १२/१ बजे पनि खोल्न पर्‍यो । तर, सुरक्षाको हिसाबले के गर्नुपर्छ त्यो गर्नुपर्‍यो ।’

उनले कोही व्यवसायीले गलत गरे उसलाई कारबाही गर्न तर पुरै व्यवसायीलाई मारमा नपार्न एसपीलाई निर्देश गरेका छन् । व्यवसायलाई मध्यरातसम्म खुलाउन प्रमुख जिल्ला अधिकारीसँग संयुक्त बैठक गर्ने मुख्यमन्त्रीले बताए । ‘पर्यटन व्यवसायीसँग एउटा बैठक राख्न म सिडिओ सा’बलाई भन्छु । तपाईंहरुले त्यहाँ निश्चित प्रोटोकल गर्ने अनि शंकास्पद कोही व्यक्ति छ त्यसलाई निगरानी गर्ने…’ उनले एसपी केसीसँगको कुराकानीमा थपे, ‘कोही व्यवसायीले गलत गरेको छ भने व्यक्तिगत कारबाही गर्ने हो । तर, समग्र व्यवसायी मारमा परेका छन् । कसरी हुन्छ त्यो कुरा ख्याल गर्ने र यहाँ १२ बजेसम्म पनि खोल्न पाउनुपर्‍यो ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठकाअनुसार चीनले प्रतिबन्ध लगाएकाले त्यहाँका पर्यटक नेपाल आउन पाएका छैनन् । त्यसैले उनले कुटनीतिक पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । परराष्ट्रमन्त्री विमला पौड्याल अहिले श्रीलंका भ्रमणमा छिन् । उनीसँग फोन सम्पर्क हुन नसकेपछि मुख्यमन्त्री अधिकारीले आफूले यसमा कुटनीतिक पहल गर्ने आश्वासन दिए ।

व्यवसायीले बैंकको ब्याज दर घटाउनेतर्फ पहल गरिदिन पनि प्रदेश सरकारसँग माग गरेका थिए ।

प्रकाशित मिति २०७९ माघ २१ गते शनिबार १२:४२

हजुरको प्रतिक्रिया