पार्टीकाे विलय होइन विचार मिल्नेसँग एकता
पोखरा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति नेकपा एमालेलाई दिए देश बर्बाद हुने बताएका छन् । ‘राष्ट्रिय सभाको अध्यक्ष एमालेको, सभामुख पनि एमालेको भएकाले राष्ट्रपति एमालेलाई दिनु हुँदैन,’उनले भने,‘शक्ति सन्तुलन मिलाउन पनि एमाले बाहेकबाट राष्ट्रपति बनाउनु पर्छ । ’
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष एउटै पार्टीकाे हुँदा शक्ति सन्तुलन नमिल्ने बताए । उनले राष्ट्रपतिको चुनावी रेसमा एकीकृत समाजवादी पार्टी नरहेको बताउँदै उनले एकीकृत समाजवादी पार्टीले कसैलाई उम्मेदवार नबनाउने बताए । चुनावमा उम्मेदवार नै उठाउने हैसियत र भूमिका एकीकृत समाजवादीको नरहेको नेपालले पत्रकार सम्मेलनमा स्वीकार गरे ।
नेता नेपालले अहिलेको गठबन्धन खिचडी भएको बताए । उनले यो खिचडी गठबन्धन देश, जनता र संविधानप्रति प्रतिबद्ध नरहेको बताए । राष्ट्रपतिको चुनावसम्म गठबन्धन फेरिन सक्ने दाबी नेपालको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत हुँदाहुँदै दाहालले एकाएक गठबन्धन तोडेको भनाइ नेपालको छ ।
पार्टीकाे विलय होइन विचार मिल्नेसँग एकता
पूर्व प्रधानमन्त्री नेपालले एकीकृत समाजवादी पार्टी कुनै पार्टीमा मिसिएर विलय नहुने बताए । ‘एकीकृत समाजवादी पार्टी विलय हुँदैन,’उनले भने,‘ विचार मिल्नेसँग एकता हुन्छ, छलफल पनि भइरहेको छ ।’
समाजवादी प्रेस संगठन गण्डकीका इन्चार्ज श्रीराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चलन जिल्ला सचिव भीम थापाले गरेका थिए ।
प्रकाशित मिति २०७९ फागुन ३ गते बुधबार ०९:५७




