पोखरा
पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाज दुर्घटनाको ठीक अघि पाइलटको कमाण्ड परिवर्तन भएको पाइएको छ ।
दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए ।
जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ । त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्न यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।
बुधबार दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस धावनमार्गबाट भीएफआर उडान अनुमति दिनु अगाडि कति उचाइमा जहाज स्थिर हुन्छ र अवतरण गर्न सक्छ भन्नेबारे विस्तृत अध्ययन गर्न सरकारलाई सिफारिस गरेको हो । यससँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वान–टूबाट जहाजहरु अवतरण गर्न नपाउने भएका छन् ।
१ माघ २०७९ मा पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एनएएनसी जहाज धावनमार्ग वानटूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटना जहाज बेस लेगमा रहेका बेला दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएका कारण भएको देखिएको छ । यो किन भयो भन्ने बारे भने विस्तृत प्रतिवेदनमा मात्र भन्न सकिने आयोगका एक सदस्यले जानकारी दिए ।
‘‘प्रारम्भिक प्रतिवेदनले दुर्घटना यस कारण भयो भन्ने देखाएको हो,’ उनले भने, ‘यो अवस्था किन आएको हो भन्ने चाँही विस्तृत प्रतिवेदनले देखाउने छ ।’ यो अवस्था आउनु भनेको जहाजका पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने बुझिन्छ । जसका कारण जहाज भुइँमा झर्न पुगेको हो । यसमा मानवीय वा प्राविधिक दुवै कारण हुन सक्ने भन्दै उनले विस्तृत प्रतिवेदनले मात्र दुर्घटनाबारे भन्न सकिने उनले बताए ।
सामान्यतया उडान सुरक्षामा तत्काल कुनै जोखिम भएमा त्यसलाई सच्याउनु पर्ने भएमा दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन छ । सोहीकारण आयोगले यस्तो प्रतिवेदन निकाल्दै रनवे वान–टूबारे अध्ययन गर्न भनेको हो । आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेष्टिगेसन’ सूची सार्वजनिक गरेको छ ।
दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको पाइएको छ । सो दिन आकास खुला रहेको र कहीं कतै मात्र बादल देखिएको थियो । १४ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।
प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए । दायाँतर्फ सामान्यतया को(पाइलट बस्ने गर्छन् ।
खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्, प्रतिवेदनमा भनिएको छ । दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति २०७९ फागुन ३ गते बुधबार ०७:३८




