पोखरा
सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ पात्रो हेरर भन्न नसक्ने बताएका छन् । ‘यहीँ मिती भन्ने कुरा त अब पात्रो हेरर म भन्न सक्दिन । किनकी हामी नेपालमा छौं । र पनि हाम्रोतर्फबाट अत्याधिक कोशिस भएको छ । यथाशक्य चाँडो रन गर्छ भन्ने हाम्रो धारणा हो’, मन्त्री किराँतीले भने ।
जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामझामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएपछि पोखरेली निराश छन् । २०३२ सालमा जग्ग्गा अधिग्रहण गरेर बल्ल निर्माण भएको विमानस्थल पुरानै विमानस्थलको विकल्प जस्तै भएको बताउँदै पोखरेलीहरुले अन्तर्राष्ट्रिय उडानको माग गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर गण्डकी प्रदेश कमिटीले बिहीबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किराँतीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्नलाई कुटनीतिक पहल भइरहेको जानकारी दिए । ‘यसको सम्भावना राम्रै छ । अन्तर्राष्ट्रियस्तरमा हामीले कुटनीतिक पहल सुरु गरेका छौं । मित्र राष्ट्र चिन र भारतका महामहिमहरुसँग मैले कुरा अगाडि बढाएको छु’, उनले भने ।
कुटनीतिक ढंगले भारतसँग कुरा राखेको उनले दाबी गरे । पोखरासँग सिँधै हवाइ सम्बन्ध स्थापित गर्न थुप्रै राष्ट्रसमक्ष पहल थालेको मन्त्री किराँती बताउँछन् । लगानी खेरा जान नदिने गरेर विमानस्थललाई फुल फेजमा चलाउन सक्नुपर्ने उनको भनाई छ । समस्याको चाङ भएकाले केही समय लाग्ने उनले बताए ।
प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार ०२:२२




