पोखरा
पोखराको चाउथेस्थित एक फर्निचर उद्योगमा आगो लाग्दा २ मजदुर जलेर घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथे डिपीमार्गमा रहेको पाल्पा भैरव फर्निचर उद्योगमा गएराती भएको आगलागीमा परेर २ जना मजदुर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूूचना अधिकारीका प्रहरी नायब निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार धादिङको ज्वालामुखी घर भई फर्निचरमा कार्यरत २० वर्षीय राहुल गुरुङ र पाल्पा रिब्दीकोटका २१ वर्षीया आशिष खड्का घाइते भएका छन् । गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको छ ।
उनको शरीरको ४५ प्रतिशत जलेको अस्पतालले जनाएको छ । खड्काको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । युक्तप्रसाद रेग्मीले सञ्चालन गरेको उक्त फर्निचरमा गएराती करिब २ बजे आगलागी भएको थियो । ‘आगोलागीबाट कम्पाउण्डभित्र रहेका ४ वटा टीनका टहरा पूर्ण रुपमा जलेर क्षति भएका छन्’, खड्काले भने ।
खड्का अनुुसार ग १३ प ३६५६ नम्बरको बुलेट मोटरसाइकल पनि जलेर पूर्ण रुपमा क्षति भएको छ । यस्तै, ग २ च ९०२६ नम्बरको बोलेर जिप पछाडिको ढालामा क्षति पुगेको छ । क्षतिको एकिन विवरण नआएको प्रहरी नायब निरिक्षक खड्काले जानकारी दिए । क्षतिको एकिन विवरण आउनलाई केही समय लाग्ने उनले बताए ।
‘काठपातदेखि लिएर टहरा पूर्ण रुपमा जलेका छन्’, उनले भने । फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । यस्तै गएराती नै पोखरा–१० खत्रीपसल चोकमा सञ्चालित अलि हुसेन वर्कसपमा पनि आगलागी भएको छ । वर्कसपभित्र रहेका मोटरसाइकलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार १०:५७




