पोखरा । पोखरेली पर्यटन व्यवसायीले संघ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान थाल्ने गरी छिमेकी राष्ट्रसँग वार्तामार्फत सहमति गर्न माग गरेका छन् ।
पोखरा पर्यटन परिषद्ले बिहीबार पोखरामा आयोजना गरेको भेटघाटमा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले चीनतर्फ उडान भर्ने गरी अघि बढेर भारतलाई दबाब दिनुपर्ने बताए । ‘भारतले रूट नदिए पनि चीनले बनाएकाले त्यहाँका केही शहरहरूसँग सम्भव भएका ठाउँमा खोल्न सकियो भने अन्तर्राष्ट्रिय रूपमा दबाब भारतलाई पथ्र्यो । त्यसपछि भारतले पनि रूट दिनसक्छ भन्ने आश छ,’ उनले भने ।
वातावरण ऐनमा भएको व्यवस्थाले नवीकरण गर्न झन्झट भएकाले सच्याइदिन, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउनेतर्फ ध्यान दिन व्यवसायीले माग गरे । त्यस्तै पर्यटन क्षेत्रका लागि एउटा आपतकालीन उद्दार केन्द्र स्थापना गरिदिन पनि मन्त्रीसमक्ष व्यवसायीको माग थियो ।
पर्यटनमन्त्री किराँतीले नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा रुटको विषय एजेण्डा नै रहेको जानकारी दिए । आफूले रुटका लागि चीन र भारत सरकारसँग वार्ता गरिरहेको बताए ।
प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार ०७:३७




