२०८३ साउन २१ गते बिहीबार

पोखरामा उहिले मरणासन्न कुटिएका नरेश बने अनेरास्ववियुको महासचिव, गण्डकीबाट को–को ?

पोखरामा उहिले मरणासन्न कुटिएका नरेश बने अनेरास्ववियुको महासचिव, गण्डकीबाट को–को ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ५ गते शुक्रबार ११:५०

बाजुराका रोकायाको राजनीतिक साइनो पोखरासँग पनि जोडिएको छ ।

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । नरेश रोकाया महासचिव निर्वाचित भए ।

बाजुराका रोकायाको राजनीतिक साइनो पोखरासँग पनि जोडिएको छ । पढ्नलाई २०६० सालतिर पोखराको पृथ्वीनारायण क्याम्पस आएका उनी यहाँ हरेक आन्दोलनमा अग्र मोर्चामा हुन्थे ।

पढ्नलाई पोखरा आएका नरेश २०६१ सालमा अनेरास्ववियुको पृथ्वीनारायण क्याम्पस कमिटी सदस्य भएका थिए । स्ववियुको चुनावमा २०६३ पदम गिरी सभापति हुँदा नरेश सदस्य निर्वाचित भएका थिए ।

२०६४–०६५ सालतिर उनी अनेरास्ववियुको पिएन क्याम्पसको उपाध्यक्ष भए ।

नरेशको परिचय दिँदा उनको विगत थाहा हुनेले भन्छन् – मर्‍यो भनेर अखिल क्रान्तिकारीले सेती खोँचमा फालेको मान्छे ।

२०६६ साल पुस पहिलो हप्ता पोखरामा माओवादीनिकट विद्यार्थीले उनलाई मरणासन्न हुने गरेर कुटेका थिए । टाउको र खुट्टामा चोट लागेका नरेशलाई प्रहरीले अर्धचेत अवस्थामा उद्दार गरेर अस्पताल लगेको थियो । ‘क्याम्पस पछाडिको सेती खोंचको झाडीमा उनलाई माओवादी कार्यकर्ताले मर्‍यो भनेर फालेका थिए,’ घटना हुुँदा अनेरास्ववियु कास्की सहसचिव रहेका विवेक देवकोटा सम्झन्छन्, ‘मनिष हमाल, चन्द्र बुढाले ज्यान जोगाउन सफल भए । नरेशलाई घेरा हालेर कुटेका थिए ।’

यही घटनाले त्यतिबेला पृथ्वीनारायण क्याम्पस महिना दिनसम्म तनावग्रस्त रहिरह्यो । ‘घटनाको भोलिपल्ट क्याम्पस जाँदा मसहित साथीहरू प्रकाश आचार्य, मनकुमार श्रेष्ठमाथि पनि धाकधम्की आइरह्यो,’ हाल एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्ष रहेका देवकोटाले सुनाए, ‘घटनापछि एक महिना जति क्याम्पस रणभूमिजस्तै बनेको थियो ।’

पोखरामा उपचार सम्भव नभएपछि त्यतिबेला नरेशलाई काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा उपचार गरेर फर्किएपछि उनी फेरि आन्दोलनमा सक्रिय भए ।

२०६७ सालको अनेरास्ववियुको २० औं महाधिवेशनबाट नरेश केन्द्रीय सदस्य निर्वाचित भए । २१ औं सम्मेलनमा दोस्रोपटक केन्द्रीय सदस्य बने । २२ औं सम्मेलनमा सचिवालय सदस्य बनेका उनी बीचमा भएको आन्तरिक जिम्मेवारी बाँडफाँटमा उपमहासचिव भएका थिए ।

गण्डकीबाट को–को ?

खुल्ला सचिव पुरूषमा प्रकाश पौडेल र आशिर्वाद सुवेदी निर्वाचित भएका छन् । ४८ जना उम्मेदवार रहेकोमा पौडेल र सुवेदीसहित ६ जना निर्वाचित भएका हुन् । पौडेल म्याग्दी र सुवेदी कास्कीका हुन् ।

स्थायी कमिटी प्रदेशगत गण्डकी प्रदेश खुल्लातर्फ विजय पौडेल र सुजन बानियाँ गोरखाली निर्वाचित भएका छन् । पौडेल कास्की र बानियाँ गोरखाका हुन् । स्थायी कमिटी सदस्य महिला कोटाबाट कास्कीकै स्मृति बराल निर्वाचित भएकी छन् ।

केन्द्रीय कमिटी प्रदेश खुल्लामा गण्डकीबाट अनुप लामिछाने, गोविन्द महत, देवेन्द्र गुरूङ, रोशन कुँवर, रोशन भट्टराई, विष्णु पोखरेल, शेखर पौडेल, सगुन राना निर्वाचित भएका छन् ।

केन्द्रीय कमिटीमा गण्डकी प्रदेशको महिला कोटाबाट अनिता पौडेल, प्रमिला खड्का, शोभिना सुवेदी (अनु) र सावित्रा खत्री निर्विरोध निर्वाचित भएका छन् ।

लेखा आयोगको अध्यक्षमा ई. सुनिल तिमिल्सना र सचिवमा अञ्जली लम्साल निर्वाचित भए । दुवै कास्कीका हुन् ।

पदाधिकारी को–को ?

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट निर्वाचित भए ।

सचिवमा गण्डकीका पौडेल र सुवेदीसहित सन्जीव धिताल, सुजन कडरिया, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भएका छन् ।

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

प्रकाशित मिति २०७९ फागुन ५ गते शुक्रबार ११:५०
हजुरको प्रतिक्रिया