पोखरा
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले राष्ट्रिय सहमति अभियान सुरु गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय सहमतिको विकल्प नभएको पनि बताए ।
राष्ट्रियता र संविधानमाथि जोखिम बढ्न सक्ने अवस्था भएकाले राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने उनको भनाई छ । आइतबार विहान पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘सहमति जुटाउनुको विकल्प छैन । संविधानको पनि रक्षा गर्नुपर्छ । आर्थिक सम्बृद्धीको यात्रा सुरु गर्नुपर्छ । र मुलुकको स्वाधिनताको पनि रक्षा गर्नुपर्छ । यी मुलभुत कार्यभार पूरा गर्नका लागि यतिखेर सहमति र सहकार्यका आवश्यकता छ भनेर त्यो यात्रामा माओवादी अगाडि बढिरहेको छ ।’
राष्ट्रपति निर्वाचनको संघारमा राष्ट्रिय सहमति खोजेको चर्चा भएपनि माओवादी केन्द्रले निर्वाचनपश्चात नै राष्ट्रिय सहमतिको कोसिस गरेको दाबी गरे । त्यतिबेला ठुला दलहरु तयार नभएको उनको आरोप छ ।
उनले राष्ट्रपति संविधानको संरक्षक हुनुपर्नेमा जोड दिए । ‘राष्ट्रियताको संरक्षक पनि हुनुपर्छ’, महासचिव गुरुङले भने ।
प्रकाशित मिति २०७९ फागुन ७ गते आइतबार १०:३४




