२०८३ असोज २४ गते शनिबार

विद्यार्थीले जब प्रधानमन्त्रीको राजीनामा मागे (भिडियो सहित)

विद्यार्थीले जब प्रधानमन्त्रीको राजीनामा मागे (भिडियो सहित)

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ फागुन ८ गते सोमबार ०८:१६

प्रचण्डले निःशुल्क शिक्षाको हक कार्यान्वयनका लागि सरकारले अन्तिम तयारी गरेको बताए ।

पोखरा

पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा सहभागी हुुन पोखराको लेखनाथ आएका प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरिएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको विद्यार्थीले नै राजीनामा माग गरेका हुन् ।

सोमबार कार्यक्रममा सहभागि भएर काठमाडौं फर्कन उनी अलिक हतारमा थिए । पोखरा विश्वविद्यालयको कार्यक्रम सकाएर उनी राष्ट्रपति चुनावबारे छलफल गर्न डाकिएको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पुुग्नलाई हतारमा थिए ।

उनले केही विद्यार्थीलाई प्रतिनीधिमूलक रुपमा दीक्षित गरेपछि सम्बोधन थालें । लिखित छोटो सम्बोधनको अन्त्यमा उनले हतार भएकाले आफू निस्कने बताउँदै गर्दा दीक्षित हुन आएका आदर्श सुवेदीले चिच्याउँदै भन्न थाले, ‘प्रधानमन्त्री ज्युुँ मलाई मेरो प्रश्नको जवाफ चाहिन्छ है ।’

उनलाई प्रधानमन्त्रीको सुरक्षाकर्मीले रोक्न खोजे । सुुवेदीले प्रधानमन्त्री गएपछि आफ्नो बोलीको मुुल्य नहुने भन्दै रोकिन मानेन् । दीक्षित हुन आएका विद्यार्थी र प्राध्यापक पनि उनलाई नबोल्न आग्रह गर्दै थिए । उनको ढिपी थियो, ‘प्रश्नको जवाफ चाहिन्छ ।’

विद्यार्थी सबैको प्रतिनीधित्व गरेर आफूूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहेको उनले बताइरहेका थिए । अक्सफोर्ड कलेज चितवनबाट इन्ञ्जिनियरिङ म्यानेजमेन्ट पढेर दीक्षित हुन आएका उनले दुखेसो पोख्दै भन्न थाले, ‘यहाँ गोल्डमेडल पाएपनि लास्टमा थन्क्याउने मात्रै हो । मेरो दाईले पनि पढेर गोल्डमेडल पाएर पनि अहिले थन्काएर बस्नुुभा’को छ । ’

रोक्न खोज्दाखोज्दै पनि आदर्शले त्यति भन्दासम्म प्रधानमन्त्री सुरक्षा घेरामा कार्यक्रमबाट बाहिरिसकेका थिए । उनले जनताको प्रश्नको जवाफ दिन नसक्ने के प्रधानमन्त्री हुुने हो भन्दै आक्रोश पोख्न थाले । उनको आक्रोशमा दीक्षित हुन आएका अन्य विद्यार्थीले पनि साथ दिँदै चिच्याए । बेलाबखत परररर ताली पिट्थे ।

भिडका अर्का एक विद्यार्थी फ्याट्टै भने, ‘यसरी भाग्नै छ भने राजीनामा दिए भयो नि ।’ आदर्शले थप्दै भने, ‘भाग्ने हो भने राजीनामा चाहियो ।’

आदर्शले आफूू कुनै पार्टीमा आबद्ध नभएको स्पष्टीकरण दिँदै आफुले पढेर लिएको सर्टिफिकेटको योग्यता जम्मा १५ हजार रुपैयाँ मात्रै भएको आक्रोश पोखे । ‘एउटा कुल्लीले ३०÷३५ हजार खान्छ । यहाँ गफ लगाएर मात्रै हुन्छ । यहाँको कुलपति उपकुलपति सबैले गफ लगाएर हुन्छ । के के नै गोल्डमेडल । एउटा लेपन दिँदैमा हुन्छ ।’

उनले पढाई सकेपछि पनि जागिर नपाउने, पाएपनि उचित तलब नपाउने समस्याको प्रश्न प्रधानमन्त्री प्रचण्डलाई सोध्न खोजेको उनैको भनाइले स्पष्ट हुन्थ्यो ।

प्रचण्डले विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भनेका थिए, ‘तपाईहरुले यस विश्वविद्यालयबाट प्राप्त गरेका ज्ञानलाई मुुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थिरता, समग्र विकासको क्रमसँग जोड्न सक्नुुपर्छ ।’
कक्षाकोठामा सिकेको ज्ञानलाई मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको चुनौतीलाई सामना गर्दै अवसरमा बदल्नुपर्ने बेला आएको उनको भनाई छ । ‘आगामी उर्जाशिल वर्षहरुमा तपाईहरुले मुुलुकका लागि योगदान दिने बेला आएको छ’, उनले भने ।

प्रधानमन्त्री दाहालले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने अभिभारा दीक्षित विद्यार्थीको काँधमा बताए ।

प्रचण्डले निःशुल्क शिक्षाको हक कार्यान्वयनका लागि सरकारले अन्तिम तयारी गरेको बताए । ‘वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयनका लागि संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ’, उनले भने ।

संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको अपेक्षा छ ।

समारोहमा ९ हजार विद्यार्थी दीक्षित भएका छन् । ४०२ जना विद्यार्थी डीन लिष्टको उपाधिबाट सम्मानित भए ।

प्रकाशित मिति २०७९ फागुन ८ गते सोमबार ०८:१६
हजुरको प्रतिक्रिया