२०८३ साउन २१ गते बिहीबार

विचार

सरकार हरायो, दुनः नचाऊ !

सरकार हरायो, दुनः नचाऊ !

विकाश राेकामगर

@Public 4K Tv

२०७७ कात्तिक ५ गते बुधबार १०:३२

कवि भूपाल राईले फेसबुकमा ‘झापालीले आफ्नो भोटप्रति लाज मान्नुपर्ने’ लेखेका छन् । तर, कुरा यहाँ झापालीकोमात्रै होइन, सबै नेपाली नागरिकले लाज मान्नुपर्ने अवस्था भइसकेको छ । सुखदुखमा समेत नभेटिने छिमेकी र सरकार दुवै हुनु र नहुनुले कुनै अर्थ राख्दैन । नत्रभने आफूलाई जनताको पहरेदार बताइरहेको यो दुई तिहाईको सरकारको ज्यादतिमाथि खै हामी प्रश्न उठाउन सकेको ? खै हामीले अब त अत्ति भो भन्न सकेको ?

रोल्पातिर एउटा गजबको चलन छ – दुनः (दुनो) नचाउने, हराएका सामान भेटाउने !

कसैको सामान वा चिजबिज हरायो भने झाँक्री वा जैसीले दुनो नचाएर ती हराएका सामानको खोजी गर्छन् । दुनः नचाउँदा जुन दिशामा सामान हराएको हो त्यही दिशामा लठ्ठी आफैं नाच्दैनाच्दै पुग्छ भन्ने विश्वास छ ।दुनः नचाइसकेपछि हराइसकेका सामान भेटिएका दृष्टान्त पनि छन् ।

दुनः जपको नाम हो । तर, त्यहाँ नचाउने लठ्ठीलाई सर अथवा वीर भन्ने गरिन्छ । सर÷वीर निगालोबाट बनाइएको हुन्छ । जुन ३ वा ५ आँखे हुनुपर्छ भन्ने मान्यता छ । रोल्पालीहरु निगालोको आँखालाई आँख्ला भन्छन् । अर्थात् दुनो नचाउने भनेको लठ्ठी नचाएर हराएका सामान खोज्नु हो ।

एक पटक जेलबाङको एउटा घरमा चोरी भएछ । कसैगरी पनि चोर फेला पार्न नसकेपछि दुनः चलाउने निर्णय भएछ । जैसीले मन्त्र जपेको दुनः ३ दिनसम्म नाचेको नाच्यै गरेर नचाउँदै ३ दिनसम्म लठ्ठी छिमेकको गाउँमा पुगेछ । ठीक चोरकै घरमा गएर दुनः आफैं नाच्न बन्द भएछ । बाबा भन्नुहुन्छ, ‘रोल्पाभरि जेलबाङको दुनः नचाइ पक्का मानिन्थ्यो ।’

यद्यपि दुनः आफैं नाच्दैन, दुनः आफैं हराएको सामानतिर सोझिँदैन । त्यसका लागि मन्त्र चाहिन्छ । मन्त्र जैसी वा झाँक्रीले फुकिदिन्छन् । त्यसलाई स्थानीय मगर भाषामा ‘जप’ भन्छन् । जैसी÷झाँक्रीले जप गर्दा निगालो लठ्ठीमा चामल, तितेपाती र चोखो पानीले मन्त्र फुक्छन् ।

मन्त्र फुकिसकेपछि सामान हराएकोबेला सर÷वीर जसले पनि नचाउन सक्छ । तर, सर÷वीर नचाउन ‘हात चल्नुपर्ने’ हुन्छ । अर्थात् फुकेको लठ्ठी समाउने बित्तिक्कै हात आफैँ काँप्न थाल्छ । लठ्ठी जसको हातमा पुग्यो उसको हात हराएको सामान÷जिजबिज भएतिर सोझिँदै आफैं नाच्न थाल्छ भन्ने विश्वास छ । दुनः फुक्न झाँक्री भन्दा जैसी उत्तम मानिन्छ ।

धेरै साना बालबच्चाको सात्तो जाँदा पनि यसैगरी दुनः नचाएर खोलाको मुहानमुहान दौडिएको देखेको छु ।

अब गाउँमा हराएका सामान÷चिजबिज खोज्न त्यसरी दुनः फुक्ने र नचाउने जैसी वा झाँक्री छन् या छैनन् ? थाहा छैन । अरुका हराएका सामान खोज्दाखोज्दै आफैं पो हराए कि ? त्यो पनि थाहा छैन । गाउँ नगएको मस्तै वर्ष भइगयो । उतिसारो जानकारी लिन पाएको छैन ।

(माथि उल्लेखित दुनः प्रसंग यहाँ अनुचित हुन सक्छ । तर, विषयमाथि त्यही दुनः नचाएरमात्रै भेटाउन सकिने भएकाले जबर्जस्ती भित्र्याइएकाे हो ।)

०००
भसक्कै दिन भो – मैले सरकार खोजिरहेको छु । भेटाएको छैन ।
सडकमा खोजें – कुच्चिएका धुलाम्मे खाल्डे सडक छन् । त्यहाँ पनि देखिनँ । सोचेँ – जनतामाझ आउँदै गर्दा आफैं पो दुर्घटनामा प¥यो कि ? सहयोग माग्न बोलाउनुपर्ने, बोलाएको छैन । सरकार देखिनँ ।

व्यवसायमा खोजें – करको भारमात्रै छ । त्यहाँ पनि देखिनँ । सोचेँ – जनतासँग उठाएको कर गन्न गाह्रो पो भइरहेको छ कि ? सहयोग माग्न बोलाउनुपर्ने, बोलाएको छैन । सरकार देखिनँ ।

भोकमा खोजेँ, भेटिनँ । शोकमा खोजेँ, भेटिनँ । हरथोकमा खोजेँ, भेटिनँ । सोचेँ, ‘ममात्रै कहाँ छु र दुखी पात्र ? विश्वकै खुसी जनतामा गनिएपनि दुखी नै दुखीको बस्ती हो नेपाल । कसै न सरकार कसैको घरमा गएर दुखेको मनमा मल्हमपट्टी पो गर्दै छ कि ? तर, होइन रहेछ । फेरि पनि सरकार देखिनँ ।

कोभिड १९ को महामारी समय छ । ६ महिने लामो लकडाउनपछि केही खुकुलो भएको छ । तर, संक्रमितको संख्या घटेका होइनन् । महामारीको बेला रोगले छोइहाले पनि कानुनतः व्यवस्था गरिएको स्वास्थ्य सुविधा जनताले भोग गर्न पाउँछन् कि भन्ने लागेको थियो ।

तर, यहीबेला समाचारमा देखियो –
– बेहोस हुन लाग्दामात्रै कोरोना परीक्षण गर्न आउनू, आफ्नो उपचार आफैं गर्नू !
– सांसदलाई दसैं भत्ता, स्वास्थ्यकर्मीलाई सुक्को छैन !
– निजी कम्पनीले कर्मचारी हटाए, तलब दिएनन् !
– सडकमा मजदुरको भोकले ज्यान गयो !
– परदेशमा नेपालीको विचल्ली !
– बेरोजगारी बढ्यो, भोकमरी थपियो !
– बलात्कार बढ्यो, जातीय विभेद बढ्यो !
– सर्प पाल्न आफ्नै प्रतिष्ठानलाई करोडौं अनुदान
– नक्कली सुकुम्बासी अर्थमन्त्री नियुक्त

यी सब हेरिसकेपछि, पढिसकेपछि, भोगिसकेपछि म पनि विश्वस्त भएँ – सरकार हरायो !

जनताले राज्यको अनुभूत गर्ने भनेको दुखको बेला हो । परिवारको अभिभावक भइसकेपछि सदस्य दुखबिमार पर्दा सहयोगी भूमिकामा देखिनुपथ्र्यो । तर, त्यस्तो कसैगरी हुन सकेको छैन । महामारीको यो दुखिलो समयमा पनि जनताले सरकार छ, राज्य छ भन्ने अनुभूत गर्न पाएका छैनन् । कुनै पनि अर्थमा सरकारको भएको अनुभूत गर्न नपाएपछि साझा सोच हुने नै भयो – सरकार हरायो ।

देश संघीयतामा गइसकेपछि प्रत्येक जनताले आआफ्ना घरआँगनमै सरकारको उपस्थिति पाउनुपथ्र्यो । बिडम्बना कर तिर्न गाउँको ‘सिंहदरबार’ धाउँदा बाहेक सरकारको अनुहार जनताले सायदै देखे होलान् !

समाजवादोन्मुख, समृद्धिउन्मुख घोषणासहित सत्तामा आएको दुई तिहाई अहिले यसरी बल्ड्याङ खाइरहेको छ कि वर्तमानमामात्रै होइन, भविष्यमा पनि घाइते भइरहनेछ । सत्ताको उन्मादमा मस्त भइरहेको यो दुई तिहाइको सरकारमा केही समयअघिसम्म त ‘सुध्रिनुहोस्’ भन्ने सुझाव दिन सक्ने अवस्था थियो । दिएकै पनि हौं । तर, अब समय धेरै घर्कीसकेको छ ।

कवि भूपाल राईले फेसबुकमा ‘झापालीले आफ्नो भोटप्रति लाज मान्नुपर्ने’ लेखेका छन् । तर, कुरा यहाँ झापालीकोमात्रै होइन, सबै नेपाली नागरिकले लाज मान्नुपर्ने अवस्था भइसकेको छ । सुखदुखमा समेत नभेटिने छिमेकी र सरकार दुवै हुनु र नहुनुले कुनै अर्थ राख्दैन । नत्रभने आफूलाई जनताको पहरेदार बताइरहेको यो दुई तिहाईको सरकारको ज्यादतिमाथि खै हामी प्रश्न उठाउन सकेको ? खै हामीले अब त अत्ति भो भन्न सकेको ?

असल समाज र देशको प्ररिप्रेक्ष्यमा राजनीतिले समाज दो¥याउनुपथ्र्यो । असल राजनीतिले निर्माण गरेको समाज असलै होला ! तर, यहाँ राजनीतिले समाजलाई होइन, समाजमा व्याप्त हल्लामाथि राजनीति हिँडिरहेको छ । कहाँ छ सरकारको भूमिका ?

समाजका बौद्धिक भनिने लेखक, साहित्यकार, प्राध्यापकसमेत चुप छन् । राज्यको अकर्मण्यताविरुद्ध बोल्नेलाई तिनै वर्गले गर्वका साथ ‘कुण्ठित’को संज्ञा दिइरहेका छन् । ताज्जुब लाग्छ – कसरी उनीहरु चुप बस्न सकेका होलान् ? कसरी उनीहरु केही नभएजसरी सहन सकेका होलान् ?

सरकार त बेकाम्मे भएर गुमनाम भइसक्यो । कतै हराइसक्यो । सत्तामा उभिएको सिर्फ डमी हो कि बुख्याँचा हो चिन्नै गाह्रो भइसकेको छ । एउटा बुख्याँचा र डमीबाट कतिञ्जेल शाषित भइरहने ? अचम्म लाग्छ ।

सरकार भूइँमान्छेको आँगनमा भेटिँदैन । जाडो बढ्दैछ शीतलहरले खाने देहातका बस्तीमा भेटिँदैन । पहिरोले निलेका गाउँमा भेटिँदैन । बाढीले बगाएका किनारामा भेटिँदैन । भेटिन्छ कहाँ यो सरकार ? राममन्दिरहरुमा ? सर्प फार्महरुमा ? वनै सखाप पार्दै हिँडेको पहेंलपुर डोजरे बाटोहरुमा ? या भेटिएला – अग्लाअग्ला भ्यू टावरहरुमा ?
मन छिन्नभिन्न छ । म पनि यो देशको एउटा युवा हुँ । महिनाभरि काम गरेर पनि दुई छाक खान धौधौ पर्ने निजी कारिन्दा हुँ । अहिले स्वेच्छाले बेरोजगार भएको छु । बेरोजगारी हुनुमा पनि अँध्यारो भविष्य कारक छ । कर्तव्यविमुख यही सरकार कारक छ ।

अब गर्ने ? खाडी जाने ? बा’को सम्पत्ति धितो राखेर युरोप, अमेरिका भास्सिने ? छिमेकी मुलुकमा सलामी ठोक्न जाने ? प्रश्नैप्रश्नमात्रै उभिएका छन् मेराअघि । उत्तर छैनन् । एउटा युवालाई फ्रस्टेड र डिप्रेस्ड हुन के यत्ति प्रश्न काफी छैनन् ? किनकी यिनै प्रश्नका उत्तरले देखाउँछन्, हाम्रा सुदूर भविष्यहरु ।

यतिबेला मलाई गाउँकै ती धामी, झाँक्री र जैसीको खुब याद आइरहेको छ । उनीहरुले मन्त्र जपेको सुर/वीरको याद आइरहेको छ । अब पनि हामी जनता नजाग्ने हो भने नभेटिने गरी हराएको यो बडेमाको दुई तिहाई ‘कम्युनिस्ट सरकार’लाई खोज्न तिनै जैसी वा धामीझाँक्रीले दुनः नचाएरमात्रै भेटाउन सक्नेछन् ।

प्रकाशित मिति २०७७ कात्तिक ५ गते बुधबार १०:३२
हजुरको प्रतिक्रिया