२०८३ असोज २३ गते शुक्रबार

रेड कार्पेटमा कुकुरहरुको राेमाञ्चक ‘क्याटवाक’ !

रेड कार्पेटमा कुकुरहरुको राेमाञ्चक ‘क्याटवाक’ !

विकास मगर

@Bikashh1997

२०७९ फागुन ९ गते मंगलबार ०७:३५

प्रतियोगितामा सहभागी १ सय ७१ वटा कुकरलाई गोल्ड रिटाइबर प्रजातिको प्रिन्स नामक कुकरले शीर्ष उपाधि जित्यो । दीपेन्द्र बाणीको प्रिन्सले २५ हजार रुपैयाँसहित प्रतियोगिता जितेपछि आफूलाई खुसी लागेको बताए ।

गोल्ड रिटाइभर ‘प्रिन्स’ बन्यो सर्वोत्कृष्ट

पोखरा
खचाखच मान्छेले भरिएको हल । बीचबीचमा चर्को हुटिङ र ताली । बीचमा बिछ्याइएको रेड कार्पेट । तर, रेड कार्पेट न कुनै सेलिब्रेटी थिए न त कुनै ‘सुन्दर, सुन्दरी’ !

बरु त्यहाँ कुकुरहरु क्रमबद्ध रुपमा लयमा लय मिलाउँदै आफ्ना ‘मालिक’सँग हिँडिरहेका थिए ।

कुनै भव्य ‘ब्युटी प्याजेन्ट’को भान दिने गरी मंगलबार पोखरा प्रदर्शनी केन्द्रमा भएको ‘पोखरा डग सो’मा देखिएको रोचक दृश्य थियो, यो ।

विभिन्न प्रजातिका १ सय ७२ वटा कुकुर सहभागी भएको प्रतियोगितामा कुकुरहरुले आफ्नो कौशल देखाए, ¥याम्पमा क्याट वाक गरे । सोममा सहभागी कुकुरहरुकै प्रजातिअनुसार विभिन्न विधामा प्रतियोगिता गराइएको थियो ।

आफ्नो विधामा उत्कृष्ट भएसँगै अन्तिम २०, १० हुँदै उत्कृष्ट कुकुर छनोट गरिएको थियो ।

प्रतियोगितामा सहभागी १ सय ७१ वटा कुकरलाई गोल्ड रिटाइबर प्रजातिको प्रिन्स नामक कुकरले शीर्ष उपाधि जित्यो । दीपेन्द्र बाणीको प्रिन्सले २५ हजार रुपैयाँसहित प्रतियोगिता जितेपछि आफूलाई खुसी लागेको बताए ।

प्रिन्सले यसअघि काठमाडौंमा सन् २०१८ मा भएको प्रतियोगिता पनि जितेको थियो । ‘२०१८ पछि फेरि पनि प्रिन्सले दोस्रो पटक खुसी दिएको छ । यसलाई हामीले अब्बल तरिकाले पाल्न सफल रहेछौं भन्ने प्रमाणित गरेको छ,’ उनले भने ।

विभिन्न प्रजातिमा उत्कृष्ट हुँदै उत्कृष्ट १० भित्र परेका कुकुरलाईसमेत पुरस्कृत गरिएको थियो । जसमध्ये उत्कृष्ट ३ मा सन्तोष गुरुङको पिनट प्रजातिको सिनु तेस्रो, रिक श्रेष्ठको पासा नामक बुल मार्सिस प्रजाति दोस्रो भएको थियो भने विकास गुरुङको जर्मन सेफर्ड ‘अली’ उत्कृष्ट ४ भएको थियो ।

प्रतियोगितामा सहभागी हुन पोखरा १५, रामबजारदेखि २ वटा कुकुर लिएर आएकी सरिता गुरुङले डग सोबारे थाहा पाउनेबित्तिकै सहभागी भएको बताइन् । गुरुङले एस नामको जापानिज पिज र एली नामको गोल्डेन रिटिभरलाई प्रतियोगितामा सहभागी गराउन आएकी थिइन् ।

‘पहिले काठमाडौंमा हुन्छ भन्ने थाहा थियो । पोखरामा पनि आएपछि त त्यसै खुसी लागिहाल्यो,’ उत्साहित हुँदै गुरुङले सुनाइन्, ‘जित्न होइन । यिनीहरु (कुकुरतिर देखाउँदै)लाई रिफ्रेस हुन्छ भनेर ल्याएका हौं ।’

८ महिनाको जापानिज रिटिभर प्रजातिकै कुकुर ‘सिम्बा’लाई लिएर आएका नयाँ बजारका एड्रिन क्षेत्रीले पनि कुकुरलाई रिफ्रेस गराउन र अरु कुकुरबारे जानकारी पाएको सुनाए ।

‘मेरो त सानो भयो, अरु हेरेर डराउँछ । तर, अरु कुुकुर हिँडेको देखेर रमाइलो मान्यो,’ उनले भने ।

घरमा ३ वटा कुकुर पालेकी जुना गुरुङले मान्छे र कुकुरबीचको सम्बन्ध बयान गर्न नसक्ने बताइन् । परिवार नै कुकुरप्रेमी भएकाले आफू जन्मिँदाबाटै कुकुरहरुसँग हुर्किने मौका पाएको सुनाइन् ।

‘कुकुर यस्तो लोयल हुन्छ कि मान्छेभन्दा बढी कुरा उसले बुझ्छ । बरु बिरामी हुँदा मान्छेले छोड्लान् तर, कुकुरले बुझ्छ,’ उनले भनिन् ।

आयोजक संस्था पोखरा पेट एसोसियसन अध्यक्ष गणेश भण्डारीले कुकुरहरुको स्याहारसुसार र पोखरामा भएका कुुकुरबारे जानकारी दिने उद्देश्यले डग सो आयोजना गरिएको सुनाए ।

‘कुकुरहरुलाई कसरी व्यवस्थित बनाउने, कसरी गर्ने, कुकुरप्रेमीहरुको एकअर्काको अनुभव आदानप्रदान गर्नका लागि पनि यो सो गरिएको हो,’ उनले भने ।

हरेक प्रजातिको कुकुरको फरकफरक स्वभाव हुने भएकाले उनीहरुको स्वभाव कुकुर पाल्नेले बुझिदिनुपर्ने शनी श्रेष्ठ बताउँछन् ।

‘अहिले थरिथरि कुकुर आएका छन् । तर, त्योअनुसार प्राय लोकल कुकुर सडकछाप पनि भएका छन् । मान्छेहरुले कुकुरको स्वभाव नबुझ्दा यो समस्या आएको हो,’ उनले भने ।

‘ह्याप्पी’ले दिएको खुसी

२ वर्षअघि सडकमा भेटिएकोे मोनाग्रेल्स प्रजातिको ह्याप्पी नामको कुकुरले जुना गुरुङलाई खुसी दियो । मोनाग्रेल्स प्रजातिमा भएको प्रतिस्पर्धा बाँकीलाई पछि पार्र्दै ह्याप्पी उत्कृष्ट ठहरिएको थियो ।

शिक्षण पेशामा रहेकी गुरुङले आफूले ह्याप्पीलाई केवल प्रतियोगितामा सहभागी गराउन ल्याए पनि उत्कृष्ट हुँदा एकदमै खुसी लागेको बताइन् ।

‘सुरुमा भेटिँदा कसैले पनि एडप्ट गर्न मानेका थिएनन् । कसैले नमानेपछि मैले राखें, पालें, माया दिएँ,’ गुरुङले खुसी बाँड्दै भनिन्, ‘आज त्यही सडकमा भेटिएको ह्याप्पीले मलाई ह्याप्पी बनायो । जित्छ भन्ने मेन्टालिटी थिएन, अनएक्सपेक्टेड भयो ।’

प्रकाशित मिति २०७९ फागुन ९ गते मंगलबार ०७:३५
हजुरको प्रतिक्रिया