२०८३ साउन २१ गते बिहीबार

नेपालले बंगलादेशलाई आगामी बर्खामै बिजुली बिक्री गर्ने तयारी

नेपालले बंगलादेशलाई आगामी बर्खामै बिजुली बिक्री गर्ने तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ०८:५३

नेपाल–बंगलादेश विद्युत् व्यापार गर्ने मामिलामा भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ । किनकि, नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्न छुट्टै डेडिकेटेड प्रसारण लाइन छैन । अहिलेलाई नेपालले बंगलादेशलाई बिक्री गर्ने विद्युत् भारतको ग्रिडमा पठाउनेछ । त्यसपछि भारतले आफ्नो ग्रिडबाट बंगलादेशलाई सोही बराबरको बिजुली दिनेछ ।

काठमाडौं

नेपाल–बंगलादेश विद्युत् व्यापारमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै नेपाल विद्युत् प्राधिकरणले आगामी बर्खामै बंगलादेशमा बिजुली बिक्री गर्ने तयारीलाई तीव्रता दिएको छ । नेपाल–बंगलादेश विद्युत् व्यापारका लागि दुई देशबीच ऊर्जा व्यापार सम्झौता भने भइसकेको छैन । तर, प्राधिकरणले आगामी बर्खामा लिखु–४ जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बंगलादेशमा बिक्री गर्ने तयारी अगाडि बढाएको हो । यसको स्वीकृतिका लागि प्राधिकरणले भारतमा प्रस्तावसमेत पेस गरिसकेको छ ।

गत साता भारतमा सम्पन्न नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जिएससी)को बैठकमा भारतले नेपाल–बंगलादेशको विद्युत् व्यापारमा सहयोग गर्ने प्रतिबद्धता दिएको थियो । विशेष गरी नेपालबाट ५० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने सम्बन्धमा भारतले सहयोग गर्ने भनेको छ । निश्चित आयोजनासहित प्रस्ताव पेस भएमा आफ्नो विद्युत् आयात–निर्यात निर्देशिकाबमोजिम सर्त तोकेर स्वीकृति दिने भारतको प्रतिबद्धता छ ।

त्यसलगत्तै प्राधिकरणले लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशमा बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । अब भारतले स्वीकृति दिएपछि बंगलादेशमा विद्युत् बिक्री गर्ने थप प्रक्रिया अघि बढाउने प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले बताए । तर, के–कति मूल्य (दर)मा विद्युत् बिक्री गर्ने भनेर पनि कुनै टुंगो लागेको छैन । यस्ता विषयमा नेपाल र बंगलादेशबीच सम्झौता हुन बाँकी नै छ । त्यसका बाबजुद पनि आगामी बर्खामै बंगलादेशमा विद्युत् निर्यात गर्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिएको थिकेको भनाइ छ । भारतबाट स्वीकृति पाएपछि विद्युत् व्यापार तथा पिपिए सम्झौताको प्रक्रिया अघि बढाइने पनि उनले बताए ।

नेपाल–बंगलादेश विद्युत् व्यापार गर्ने मामिलामा भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ । किनकि, नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्न छुट्टै डेडिकेटेड प्रसारण लाइन छैन । अहिलेलाई नेपालले बंगलादेशलाई बिक्री गर्ने विद्युत् भारतको ग्रिडमा पठाउनेछ । त्यसपछि भारतले आफ्नो ग्रिडबाट बंगलादेशलाई सोही बराबरको बिजुली दिनेछ ।

यसका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०८:५३
हजुरको प्रतिक्रिया