फागुन १५ सम्म दुई लाख ४६ हजारलाई औषधी खुवाइने
बागलुङ
गण्डकीका तीनसहित हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधी सेवा अभियान’ बिहीबार देखि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार फागुन १५ सम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान चल्नेछ । यस अन्तरगत बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४ औं चरणको हात्तिपाइले निवारण अभियान बिहीबार बिहीबार सुरु भएको छ ।
१३ वर्ष देखि निवारण हुन नसकेको हात्तिपाइले निवारणका लागि आम औषधी अभियानलाई प्रभावकारी बनाउनका लागि विभिन्न रचनात्मक नारा तथा अभियानका आम औषधी सेवन अभियान थालिएको छ ।
सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तिपाइले अभियानका लागि स्वास्थ्यकर्मीहरु रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटिएका छन् ।
फागुन १० गते विद्यालयबाट शुरु गरेको अभियान बिहिबारदेखि सर्वसाधरणका लागि थालिएको हो । बिहिबार जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई हात्तिपाइले बिरुद्धको औषधी खुवाएर अभियानको शुभारम्भ गरिएको छ । हात्तिपाइले बिरुद्धको आम औषधी अभियानलाई प्रभावकारी बनाउनका लागि हात्तिपाइले बिरुद्धको सचेतना मुलकका लागि टोल स्तरीय अन्तरक्रिर्या कार्यक्रम, हात्तिपाइले सम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रिर्याकलाप सम्पन्न गरिएको छ ।

यस पटक बागलुङमा दुई लाख ४६ हजारलाई हात्तिपाइले बिरुद्धको औषधी खुवाइन थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए । जिल्लामा ११ गतेदेखि सञ्चालन गरिने १४ औं चरणको हात्तिपाइले अभियानमा दुई लाख ४६ हजार ६४६ जनालाई हात्तिपाइलेको औषधी खुवाउन पाँच सय स्वास्थ्यकर्मी सहित एक हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।
हात्तिपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्ने भएपनि बागलुङमा १३ औं पटक आम औषधी सेवन अभियान सञ्चालन गर्दा समेत निवारण नभएपछि यस पटकको १४ औं चरणको अभियान संचालन गरिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिए ।
बागलुङमा पाँच पटक सम्मको नमूना परिक्षण गर्दा हात्तिपाइले निवारण नभएको तर छैठौं पटकको नमूना संकलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशत भन्दा कम ०.३३ प्रतिशत मात्रै हात्तिपाइलेको जिवाणु फेला परेकाले यो वर्षलाई अन्तिम पटक भनेर हात्तिपाइलेको आम औषधी सेवन अभियान सञ्चालन गरिएको छ ।
प्रकाशित मिति २०७९ फागुन ११ गते बिहीबार ०१:३९




