२०८३ साउन २१ गते बिहीबार

‘गरिखाने मर्दैछन्, ब्याजदर एक अंक कायम गर’

‘गरिखाने मर्दैछन्, ब्याजदर एक अंक कायम गर’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ११ गते बिहीबार ०२:२२

एक अंकको ब्याजदरमा लिएको ऋणको ब्याजदर बैंकले एकतर्फी बढाएर १८ प्रतिशतसम्म पुर्याएपछि व्यवसाय गरेर बाँच्ने आधार गुमेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

पोखरा

बैंक तथा वित्तीय संस्थाले थेगी नसक्नु तनाव दिएको भन्दै पोखराका उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । बिहीबार सडक नै बन्द गरेर पोखराको चिप्लेढुंगामा विरोध प्रर्दशन गरेका हुन् । व्यापार व्यवसाय ठप्प भएको बेलामा बैंकले अचाक्ली ब्याजदर बढाउँदै कर्जा चुक्ता गर्न धरपकड गरिरहेकाले विरोधमा उत्रिनुपरेको सहभागी बताउँछन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघ मातहतमा रहेका झन्डै ४० व्यवसायीक संघसंस्था विरोध कार्यक्रममा सहभागी भए ।

उनीहरुले ४५ मिनेटसम्म चिप्लेढुंगाको चारैतर्फको सडक बन्द गरेर नाराबाजी गरे । बैंक तथा वित्तीय समस्या सम्बन्धी बिरोध कार्यक्रममा उनीहरुको माग थियो, ‘ब्याजदर, एक अंकमा कायम गर ।’
‘गरीखाने मर्दैछ, सरकारको राजस्व घट्दैछ’, ‘तरलताको समस्या समाधान गर’, ‘बैंक तथा वित्तीय संस्थाको ज्यादती बन्द गर’, ‘बैंकिङ धरपकड बन्द गर’, लगायत नारा उद्योगी व्यवसायीले लगाए । बैंकले उद्योगी व्यवसायीलाई अचाक्ली तनाव दिँदा राज्य टुलुटुलु हेरेर बसेकको तर, समस्या समाधान गर्न तत्परता नदेखाएको आरोप लगाएका छन् ।

एक अंकको ब्याजदरमा लिएको ऋणको ब्याजदर बैंकले एकतर्फी बढाएर १८ प्रतिशतसम्म पुर्याएपछि व्यवसाय गरेर बाँच्ने आधार गुमेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । ‘यो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं’, उनले भने ।

राष्ट्र बैंक र अर्थमन्त्री कानमा तेल हालेर बसे आन्दोलनको आँधीबेरी ल्याउने प्रजापतिको चेतावनी छ । ‘हामी चुप लागेर बस्दैनौं । भोलि हामी त्यहाँ घेर्न आउँछौं । त्यतिबेला केही अप्रिय घटना पनि हुन सक्छ । जिम्मेवार सरकार हुनपर्छ’, उनले भने । बैंकले एक अंककै ब्याजदर कायम गर्नुुपर्ने उनको माग छ । सिंगल डिजीटमा दिनुस् हामी ब्याज पनि तिर्र्छौं । साँवा पनि तिर्छौँ’, प्रजापतिले प्रश्न गर्दै भने, ‘के बैंकले दादागिरी गर्न पाइन्छ । एकैचोटी ७ को १४ प्रतिशत ब्याज पुर्याउन पाइन्छ ।’


लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंकले नाफा कमाउने छोटो बाटो अपनाएकाले उद्योगी व्यवसायी मारमा परेको आरोप लगाए । बैंकले उद्योगी व्यवसायीलाई जोगाए लामो समयसम्म चल्न सक्ने आत्रेयको भनाई छ । अन्तर बैंक र अन्तर शाखाको प्रतिस्पर्धाले चर्को ब्याजदरको मारमा परेको उनले जनाए ।

उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोईरालाले बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाएपछि आन्दोलनमा उत्रन बाध्य भएको सुनाए । १८ प्रतिशतसम्म बढेको ब्याज तिर्न मुस्किल भएकाले नियमनकारी निकाय अर्थ मन्त्रालय र राष्ट्र बैंकको ध्यान बेलैमा पुग्नुपर्ने उनको भनाई छ ।

सत्ताका लागि मात्रै नभइ अर्थतन्त्र जोगाउनलाई सबै राजनीतिक दलको एउटै भावना हुनुपर्नेमा कोइरालाले जोड दिए । ‘बैंकको ब्याजमा पनि सरकारको राष्ट्रिय नीति हुनुपर्छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले सत्ता जोगाउन र भत्काउन अनेक हत्कन्डा अपनाउने दलहरु अर्थतन्त्र जोगाउन चुइंक्क नबोलेको आरोप लगाए । ‘उद्योगि व्यवसायीहरु अहिले यति कहाली लाग्दो अवस्थामा छन् । यो समस्या समाधान गर्नका लागि मुलुकका राजनीतिक शक्तिहरुले कुनैै खास ठोस कार्यक्रम ल्याइरहेका छैनन्’, उनको दुखेसो छ । नीजि क्षेत्रलाई यहि अवस्थामा राखेको खण्डमा अवरोध र सडक आन्दोलनलाई देशव्यापी बनाउन बाध्य हुने गिरीले बताए ।

पोखरामा बिहीबार भएको शान्तिपूर्ण आन्दोलन (विरोध कार्यक्रम) क्रान्तिकोे झिल्को हुने चेतावनी पोखरेली उद्योगी व्यवसायीले दिएका छन् । पोखराबाट सल्किएको क्रान्तिको झिल्को देशैभर फैलाउन सक्ने दाबी छ ।

प्रकाशित मिति २०७९ फागुन ११ गते बिहीबार ०२:२२
हजुरको प्रतिक्रिया