राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिने
पाेखरा
सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजनीनामा दिएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर राजीनामा दिएका हुन् । सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत, सिँचाइ मन्त्री राजेन्द्र लेङदेन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, राज्य दिपकबहादुर सिंहले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक परिस्थितिमा हठात परिवर्तन हुँदा विद्यमान अवस्थामा राप्रपा सरकारमा रहिरहन नहुने ठहरसहित सरकारबाट बाहिरिएको बताए । गत पुस १० गते राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुनेगरी समर्थन गरेको उनको जिकिर छ ।
पार्टीले प्रदेश सरकारमा दिएको समर्थन फिर्ता लिनुका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको उनले बताए । यो निर्णयसँग गण्डकी प्रदेश सरकारमा सहभागी भएका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको मन्त्री पद जाने भएको छ ।
प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०१:२१




