राप्रपाका मन्त्रीले आज राजीनामा दिने
पोखरा । राष्ट्रिय राजनीतिमा विकसित नयाँ घटनाक्रमले गण्डकी प्रदेश सरकार धरापमा परेको छ । डेढ महिनाअघि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा बनेको सरकार संकटमा परेको हो । राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै अधिकारी सरकार नरहने करिब निश्चितजस्तै भएको छ ।
अहिले बनेको गठबन्धन कायम रहे सम्भवत राष्ट्रपतिको निर्वाचनमा मतदान हुने दिन फागुन २५ पछि गण्डकी प्रदेशमा नेपाली कांग्रसको नेतृत्वमा सरकार बन्नेछ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने माओवादी अर्को गठबन्धनमा सहभागी भएपछि डेढ महिनामै अधिकारी सरकार ढल्ने अवस्थामा पुगेको हो ।
गत मंसिर ४ को चुनाव अघिको गठबन्धन भत्किएर पुस १० मा बनेको गठबन्धन अनुसार गण्डकीमा एमाले नेतृत्वको सरकार बनेको थियो । तर, फागुन १२ गते बनेको नयाँ गठबन्धनले अधिकारी नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पारेको हो ।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ । गण्डकी प्रदेश सरकारमा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री छन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री गुरुङले केन्द्रको निर्णय अनुसार आज राजनीनामा दिँदैछन् । समानुपातिकतर्फ २ सिट जितेको राप्रपाले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा पर्ने भएको हो ।
अधिकारी ३३ जना सांसदको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । पुस २९ गते विश्वासको मत लिँदा ३१ सांसदको समर्थन उनले पाएका थिए । विश्वासको मत लिने बेला अधिकारीलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदले पक्षमा मतदान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ ।
एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद गरी ३२ सांसदको समर्थनमा एमाले नेतृत्वमा सरकार बनेको थियो । प्रदेश सभामा कांग्रेसका २७ र १ स्वतन्त्र सांसद छन् । राप्रपाले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको हो । संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार कुनै दलले समर्थन फिर्ता लिए त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि अधिकारीले विश्वासको मत प्राप्त नहुने प्रष्ट भएकाले राजीनामा दिने स्रोतले बतायो ।
एमालेबाट मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगर र कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङ छन् । माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रशम जुग्जाली छन् ।सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र प्रतिपक्ष दल नेपाली कांग्रेसको साथमा लागेपछि गण्डकीमा २ दलबीच साझेदारीमा नयाँ सरकार गठन हुने देखिएको छ ।
प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०८:०३




