२०८३ असोज २३ गते शुक्रबार

आँबुखैरेनी–दमौली सडकखण्ड: राति १२ बजेदेखि चार घण्टा बन्द हुने

आँबुखैरेनी–दमौली सडकखण्ड: राति १२ बजेदेखि चार घण्टा बन्द हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १८ गते बिहीबार ११:३७

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

तनहुँ

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि १० दिन दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

आयोजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग नै बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको बताए । उनका अनुसार दिउँसोको भन्दा रातिमा सवारीको चाप कम हुने हुँदा रातको समयलाई प्राथमिकतामा राखिएको बताए ।

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।

दुवै खण्डको अहिलेसम्मको प्रगति १० प्रतिशत छ । सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशङ्का छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५ दशमलव पाँच प्रतिशत छ । यो खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ ।

विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ ।

यो खण्डमा पनि कामको गति सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ । पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

४१ दशमलव ४५ किलोमिटरको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ वैशाखसम्म छ ।

प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ११:३७

हजुरको प्रतिक्रिया