२०८३ साउन २१ गते बिहीबार

गण्डकीको चालु अधिवेशन अन्त्य

गण्डकीको चालु अधिवेशन अन्त्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १८ गते बिहीबार ०४:१०

गत ४ मंसिरमा भएको निर्वाचनपछि दुई महिनाअघि १८ पुसमा चालु प्रथम अधिवेशनको पहिलो बैठक बसेको थियो ।

पोखरा । गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ ।

बिजनेस नभएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकारको सिफारिसमा बिहीबार मध्यरात १२ बजेदेखि पहिलो अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ज्युबाट प्रदेश सभाको चालु अधिवेशन संवत् २०७९ फाल्गुन १८ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।’

चालु अधिवेशनले चार विधेयक र दुई अध्यादेश पारित गरेको छ । यो अधिवेशनमा १६ बैठक बसेको छ ।

यो अधिवेशनले विनियोजन ऐेन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी चार विधेयक पारित भएको छ । निजामति सेवाको गठनसम्बन्धी र स्थानीय सेवाको गठनसम्बन्धी दुई अध्यादेश १९ माघमा पारित भएकोमा पछि प्रतिस्थापन गरेर विधेयकको रूप दिइएको थियो ।

वर्षमा दुई वटा अधिवेशन हुन्छ । अब बजेट ल्याउने गरी जेठमा बर्खे अधिवेशन बस्छ ।

राष्ट्रपति चुनावले गठबन्धन फेरिँदा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुपर्ने देखिन्छ । अहिले गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकार छ । केन्द्रमा एमाले र माओवादीको गठबन्धन टुटिसकेको छ ।

सरकारलाई समर्थन दिएको माओवादी केन्द्र र राप्रपामध्ये जसले विश्वासको मत फिर्ता लिए पनि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । त्यस्तो अवस्थामा बर्खे अधिवेशनअगावै संविधानको धारा १८३ को ३ अनुसार विशेष अधिवेशन आव्हान् हुनेछ ।

प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ०४:१०
हजुरको प्रतिक्रिया