निर्णायक खेलमा फेरिपनि कमजाेर ब्याटिङ प्रदर्शन
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको छ । याे हारसँगै नेपालकाे लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावनासमेत कठिन बनेको छ । अब नेपालले शीर्ष तीनमा पर्न बाँकी सबै खेल जित्नुपर्नेछ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर १३९ अलआउट भयो । यसअघिका खेलमा सन्तुलित ब्याटिङ प्रदर्शन गरेकाे नेपाल युएईसँगकाे याे खेलमा संयमित बन्न नसक्दा पराजित हुन पुग्याे ।
विपक्षीलाई २०७ रनमै रोके पनि नेपालले लक्ष्य पछ्याउने क्रममा ब्याटिङको लयलाई कायम राख्न सकेन । कुशल मल्लको ६० रनबाहेक बिहीबार नेपालको ब्याटिङ फ्लप नै रह्यो । कुशल बाहेक सन्दीप लामिछानेले (२६) र आसिफ शेखले मात्र दोहोरो स्कोर (१७) गरे ।
ब्याटिङमा गहिराई भएपनि युएईका स्पिनर सामु नेपालको ब्याटरले खुलेर खेल्न सकेनन् । लिग टु मा नेपालले युएईलाई पराजित गर्न सकेको छैन । लिग टु को तीन खेलमै नेपाल युएईसँग पराजित भएको छ । गत नोभेम्बरमा नेपालमै भएको ओडिआई शृखंलामा नेपालले युएईलाई २-१ ले जितेको थियो । तर त्यो प्रदर्शन युएई विरुद्ध दोहोर्याउन सकेन ।
नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । कुशलले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा सर्वाधिक ६० रन बनाए । ११औं नम्बरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले २४ बल खेल्ख ४ चौका मद्दतमा अविजित २६ रन बनाए । ओपनर आसिफ शेखले १७ रन जोडे । तीन खेलाडी खाता नखोली आउट भएको नेपाली इनिङ्समा बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमै आउट भए । ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ७, गुल्क्कन झा र सोमपाल कामी समान ४ रनमा आउट भए ।
युएईलाई जिताउन रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे । नेपाललाई अलआउट गर्न युएईका अलराउण्डर रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै अर्को स्पिनर कार्तिक मेइयाप्पन ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । फास्ट बलर जुनैद सिद्दिकीले २ तथा सबिर अली र जहुर खानले समान १ विकेट लिए ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
ओपनर आसिफ खान र रोहन मुस्ताफाको अर्धशतक मद्दतमा युएईले २०० रनको स्कोर पार गरेको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।
७ बलर प्रयोग गरेको नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए ।
आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ५ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । यस्तै कर केसीले ७ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले विकेट नलिएपनि १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३५ रन मात्र खर्चिए । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चिए भने विकेट लिन सकेनन् । अघिल्लो खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका गुल्शन झाले भने २ ओभर बलिङ गर्दै १५ रन खर्चिए भने विकेट लिन सकेनन् ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखला क्लिन स्वीप गरेर युएई पुगेको नेपालले त्यहाँ पहिलो खेलमा पपुवा न्यू गिनीलाई पनि हराएर लगातार पाँच खेल जितेर कीर्तिमान बनाएको थियो ।
प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ०६:४१




