पोखरा । कास्कीको मादी गाउँपालिकाले पालिकाको जनावर घोषित गरेको ध्वाँसे चितुवाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रकृतिका साथीहरु नामक संस्थाको आयोजनामा मादी गाउँपालिका–१ सिक्लेसमा बिहीबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले ध्वाँसे चितुवाको संरक्षणमा जोड दिएका हुन् ।
२०७५ साल कार्तिक २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरेको थियो ।
मादी–१ का वडाध्यक्ष देवीजंग गुरूङले ध्वाँसे चितुवा संरक्षण गर्न स्थानीयमा जनचेतना जगाउनुपर्ने र गाउँपालिकाले प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम समावेश गर्नुपर्ने बताए ।
प्रकृतिका साथीहरू संस्थाका प्रमुख राजु आचार्यले मादी गाउँपालिकाभित्र विभिन्न कोणबाट ध्वाँसे चितुवाको अध्ययन भइरहेको जानकारी दिए ।
संस्थाले जंगली जनावरबाट अचानक मानिस तथा बस्तीमा हुन सक्ने अकल्पनीय क्षति न्यूनिकरण तथा राहत स्वरुप अक्षयकोष स्थापना गर्न २ लाख रूपैयाँ अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसलाई प्रदान गरेको छ । कोषमा व्यवस्थापन समितिबाट पनि केही रकम थप गरी अक्षयकोष स्थापना गरेर ब्याजले जंगली जनावरबाट हुनसक्ने क्षति न्यूनिकरणका प्रयास गरिने छ ।
कार्यक्रममा सिक्लेसका उमरबहादुर गुरुङ सन्तोषलाई ध्वाँसे जनावर संरक्षण दूतको प्रमाणपत्र प्रदान गरिएको थियो । प्रकृतिका साथीहरू नामक संस्थाले उनलाई दूत बनाएको हो ।
प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ०७:१२




