जाँदाजाँदै भने मेराे कामकाे भविश्यमा मुल्याङकन हुनेछ
काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । सत्तारुढ दलले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेसँगै उनले राजीनामा दिएका हुन् ।
संवैधानिक प्रावधान अनुसार उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि राजीनामा दिएका हुन् । फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त खतिवडाले ओलीलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पछि विभागीय प्रमुखसँग छलफल गर्दै सात महिनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गरे । यस अवधिमा आफूलाई सहयोग गर्ने मन्त्रालयसम्बद्ध राष्ट्रिय समाचार समितिलगायत निकाय प्रमुख, विभागीय प्रमुख र कर्मचारी वर्गलाई उनले धन्यवाद दिए ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चार मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सम्बद्ध निकाय एवं विभागीय प्रमुखसंँगको भेटघाटमा यस्तो बताए । ‘मलाई विश्वास गरी अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना मन्त्रालयको कार्यभार सुम्पनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छु । एक अध्येताका हैसियतले मैले सामान्य जानकारी राख्ने गरे तापनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी मेरा लागि अनपेक्षित थियो’, उनले भने ।
मन्त्री डा. खतिवडाले तोकिएका कामहरू विद्यमान कानूनबमोजिम पारदर्शी किसिमबाट सम्पन्न गर्न प्रमुखहरूलाई आग्रह गरे । उनले शिक्षा, विज्ञान, कृषि लगायत क्षेत्रमा सूचना प्रविधिको उपयोग अब अपरिहार्य रहेकाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल तुल्याउन सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
सञ्चार मन्त्रालय धेरै जनसरोकार भएको मन्त्रालयका रूपमा आफूले पाएको जनाउँदै मन्त्री डा खतिवडाले यसमा धेरै अदृश्य र असीमित स्रोत रहेको बताए ।
प्रकाशित मिति २०७७ भदौ १९ गते शुक्रबार ०२:३०




