काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भईरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको जिकीर समेत गरे । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा बोल्दै उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुलाई आग्रह गरे ।
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए। लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटकपटक दोहोर्याए ।
प्रकाशित मिति २०७९ फागुन २० गते शनिबार ०२:१८




