२०८३ असोज २३ गते शुक्रबार

शेयर सदस्य नै सचेत नभइ सहकारीका समस्या समाधान हुँदैनः उपसभामुख थापा

शेयर सदस्य नै सचेत नभइ सहकारीका समस्या समाधान हुँदैनः उपसभामुख थापा

रोहन जिसी

@Public 4K Tv

२०७९ फागुन २१ गते आइतबार १०:३८

सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक गोष्ठीको बागलुङमा उद्घाटनपछि बोल्दै उनले शेयर सदस्य नै सचेत नभइ सहकारीका समस्या यथायतै रहने बताएकी हुन्

बागलुङ

गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सदस्य केन्द्रीत अभियान थप प्रभावकारी बनाउन सहकारीकर्मीलाई आग्रह गरेकी छन् ।

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङले राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालन गरेको सवल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक गोष्ठीको बागलुङमा उद्घाटनपछि बोल्दै उनले शेयर सदस्य नै सचेत नभइ सहकारीका समस्या यथायतै रहने बताएकी हुन् ।

‘सहकारी सदस्यहरुको हो, वचतकर्ताहरुको हो, सहकारीलाई संकटमा जोगाउने जिम्मेवारी पनि सदस्यकै हो, सदस्यलाई सहकारीको समस्या र समाधानका उपायका बारेमा निरन्तर जानकारी दिन सकेमा मात्रै सहकारीलाई जोगाउन सकिन्छ,’ उपसभामुख थापाले भनिन्, ‘सहकारीलाई सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउनका लागि सदस्यको भूमिका नै सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुन्छ ।’

सहकारीमा सुशासन कायम गर्नका लागि सहकारी ऐन कानुनको पालना, कार्यविधि बनाएर नीतिगतरुपमा संस्था सञ्चालन गराउन आग्रह गर्दै उनले राज्यका तर्फबाट सहकारी प्रवद्र्धनका लागि गर्नु पर्ने विषयमा समन्वय गर्न सुझाव दिइन्।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अधिकृत राजकुमार बरालले सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयमा सहजीकरण गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमाकुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा लगायतले सहकारी अभियानमा देखिएका समस्याको पहिचान गरी संयुक्त रुपमा समाधानका लागि लाग्नु पर्नेमा जोड दिए ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव चुडामणी आचार्य र धन्यवाद मन्तव्य उपाध्यक्ष शिवकला थापाले गरेकी थिइन् ।

प्रकाशित मिति २०७९ फागुन २१ गते आइतबार १०:३८
हजुरको प्रतिक्रिया