पोखरा
नेपाली मौलिक संस्कृति भजन चुड्का संरक्षण गर्न पोखरामा खुला भजन चुड्का प्रतियोगिता आयोजना गरिएको छ । पोखराको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगतामा बिहीबारसम्म २७ टिम सहभागी भएका छन् भने अझै पनि टिम दर्ता गर्न सकिनेछ ।
भजन चुड्का प्रतियोगितासँगै वृहत ज्ञान महायज्ञ पनि आयोजना गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले बताए । मौलिक संस्कृति भजन, चुड्काको संरक्षण, कलाकारको सम्मान र संस्कृति पुस्तान्तरणका लागि कार्यक्रम गरिएको उनको भनाइ छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका हुन् । उनले भजन, चुड्का संरक्षणलाई साथ र सहयोग गर्ने प्रतिवद्धता गरे । उद्घाटनको दिन विभिन्न ३२ आमा समूहले झाँकी प्रस्तुत गरेका थिए । ‘लोक संगीतलाई बचाऔं, लोक भजन, चुड्कामा भक्तजनलाई नचाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताबाट भएको आम्दानीले पोखरामा प्रतिष्ठानको भवन निर्माण गर्ने लक्ष्य राखिएको पराजुलीले बताए ।
सबै भजनको अडियोभिडियो संकलन गरेर संग्रहालयमा राखिने उनको भनाइ छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ५१ हजार, दोस्रो समूहलाई ३१ हजार, तेस्रो समूहलाई २१ हजार र सान्त्वना समूहलाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट नृत्य, भाँकी, अनुशासन र भेषभूषातर्फ ७ हजार ५ प्रदान गरिने केन्द्रीय महासचिव डा. तुलसीराम खनालले जानकारी दिए ।

प्रतियोगितमा नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘भजन च्याम्पियन’ मा सहभागी ३२ समूह प्रतियोगिताबाटै छनोट गरिनेछ । ३५ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता एवं ज्ञान महायज्ञबाट १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको पराजुलीले बताए । महायज्ञमा चैतन्यकृष्णले कथा वाचन गर्नेछन् । भजन, चुड्कालाई जोगाइ राख्ने अभियानमा जुटेको प्रतिष्ठानले २०६८ सालदेखि काम गर्दै आएको छ । प्रतिष्ठानको देशका ४६ जिल्लामा शाखा समिति र गण्डकीका ९ जिल्लामा समिति गठन गरेर भजन चुड्का गाउने कलाकारलाई संगठित गर्दै आएको छ ।
प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०७:३०




