पोखरा
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तर, पार्टीले अध्यक्षलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर नै पुग्दैन ।
उपराष्ट्रपति बन्न ४५ वर्ष पूरा हुनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन कार्यालयमा श्रेष्ठले बुझाएको विवरणअनुसार उनी ३९ वर्षमात्रै भएकाले नै उम्मेदवार नै बन्न नपाउने भएकी हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो ।
तर, गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो ।
जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।
प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०१:४०