पाेखरा
शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बसेको एक्याप प्रभावित १५ पालिकाको अन्तरपालिकास्तरीय भेलाले ६ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र’ जारी गरेको छ ।
बैठकले अन्नपूर्ण संरक्षण क्षेत्र स्थानीयलाई नै हस्तान्तरण गर्न माग गरेको छ ।
‘वन तथा भूसंरक्षण मन्त्रालयले २०७१ साल फागुन २५ गतेको राजपत्रमा अन्नपूर्ण संरक्षण क्षेत्रलाई स्थानीय समुदायलाई हस्तान्तरण गर्न प्रकाशित भएकोमा हालसम्म पनि कार्यान्वयनमा आएको छैन,’ घोषणा पत्रमा भनिएको छ, ‘सो राजपत्रको सूचना कार्यान्वयनका लागि बैठकले जोडदार माग गर्दछ ।’
घोषणा पत्रमा संविधानबमोजिम अर्थिक अधिकार र राजश्व स्रोतको बाँडफाँडमा पूर्ण स्वतन्त्रता पनि माग गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय सरकारलाई अंकुश लगाउने गरी भएका कानुनहरु संशोधन गर्न पनि घोषणा पत्रमा माग गरिएको छ ।
त्यस्तै, संघीयताको मूल मर्मअनुसार स्थानीय सरकारलाई दिइएको २२ वटा एकल र अन्य साझा अधिकारमा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन बैठकको माग छ ।
बैठकमा पारित उक्त घोषणा पत्र माछापुुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गर्ने र गण्डकी प्रदेश तथा संघीय सरकारलाई बुझाउने पनि निर्णय गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’भित्र गण्डकीका कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्लाका १५ वटा गाउँपालिका पर्छन् ।
१५ वटै पालिका प्रमुख, उपप्रमुख शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भेला भएर संयुक्त रुपमा ‘एक्याप’ले लगाएको अंकुशबारे आआफ्ना अनुभव सुनाएका हुन् ।
प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०५:२४




