काठमाडौं
३ चैतमा हुने उपराष्ट्रपति चुनावका लागि चार जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीकी ममता झाले शनिबार उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन् ।
राष्ट्रपति चुनावमा बनेको १० दलीय गठबन्धनकै दलहरूबाट तीन जनाको उम्मेदवारी परेको छ । त्यसमाथि एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ । राष्ट्रपतिमा यही गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
उपराष्ट्रपति पनि यही गठबन्धनबाट निर्वाचित हुने सम्भावना छ । तर, उम्मेदवार नै धेरै भएपछि उपराष्ट्रपतिको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । राष्ट्रपतिमा खस आर्य समुदायका पुरुष निर्वाचित भएकाले संवैधानिक व्यवस्थाअनुसार फरक समुदायको व्यक्ति उपराष्ट्रपति हुनुपर्छ । त्यसैले उपराष्ट्रपतिका चारै उम्मेदवार खस आर्य समुदायका होइनन् । तर, संविधानमै लैंगिक समावेशीको पनि व्यवस्था भएकाले उपराष्ट्रपति पुरुष हुन पाउने वा नपाउने निश्चित नहुँदा १० दलीय गठबन्धनले तीन जना उम्मेदवार बनाएको हो ।
त्यति हुँदा पनि यो गठबन्धनको समर्थनमा जसपाका रामसहायप्रसाद यादव पनि उम्मेदवार बनेका छन् । उनको उम्मेदवारी कायम रहे गठबन्धनका अन्य उम्मेदवारको उम्मेदवारी फिर्ता हुने उच्च सम्भावना छ । यदि उनको उम्मेदवारी कायम नरहे यो गठबन्धनबाट यादव वा झा कसको उम्मेदवारी फिर्ता हुन्छ यकिन छैन । तर, जनमत पार्टीका अध्यक्ष सीके राउतले सहमति नभए मित्रवत् प्रतिस्पर्धा गर्ने प्रतिक्रिया दिएका छन् ।
एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन् । उनलाई अहिलेसम्म एमालेबाहेक अन्य दलको समर्थन देखिएको छैन । राष्ट्रपति चुनावमा भाग नलिएको राप्रपा र नेमकिपा के गर्छन् स्पष्ट भइसकेको छैन । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताइन् । उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताइन् ।
प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०२:३८




