२०८३ साउन २१ गते बिहीबार

नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण आज

नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०७:३८

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् ।

काठमाडौं

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुँदैछ । राष्ट्रपति कार्यालयले आज दिउँसो एक बजे पौडेलको पद तथा गोपनीयताको शपथग्रहण गराउने गरी तयारी गरेको छ । शपथग्रहणका लागि विशेष समारोह आयोजना गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपतिमा निर्वाचितम भएपछि पौडेलले हिजो पत्र लेखेर पार्टीको जिम्मेवारीबाट अलग भएको जानकरी गराएका छन् । उनले कांग्रेसको पार्टी सदस्यता समेत त्यागेका छन् । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । २०६२\०६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल हिजो सकिएको छ । उनले हिजो नै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुका शीर्ष नेताहरुसँग बिदाइ भेट गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार भण्डारी आज आफ्नो निजी निवास बुढानिलकण्ठ सर्ने भएकी छन् । २०७२ सालमा पहिलो पटक राष्ट्रपति निर्वाचित भण्डारीको हिजो दोस्रो कार्यकाल सकिएको हो ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०७:३८
हजुरको प्रतिक्रिया